विराटनगर, २४ साउन । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि एक जनाले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको छ ।
विराटनगर महानगरपालिका–१३ का फिरोजकुमार साहले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणा गर्दै आफ्ना चुनावी एजेण्डा लिएर उहाँले निर्वाचन लक्षित कार्यक्रमलाई अघि बढाउनु भएको छ । निर्वाचन लक्षित भएर विभिन्न छलफल, भेटघाटसमेतका कार्यक्रमलाई तीव्र पार्नु भएको छ । २५ वर्षसम्म नेपाली कांग्रेसको क्रियाशील सदस्य रहनु भएका उहाँ पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा आउने हुनु भएको हो ।
व्यवसायिक, सामाजिक र धार्मिक गतिविधिमा सक्रिय रहनु भएका साहले राजनीतिक दलबाट सधैँ जनता प्रताडित हुनु परेको बताउनु भयो । जनताको पक्षमा दलले काम नगर्दा आफू स्वतन्त्र उम्मेदवारका रूपमा खडा हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ । ‘कोरोना कहरदेखि डुबानको समस्यामा परेकालाई मैले व्यक्तिगत हिसाबले राहत वितरण गरेँ । तर यसअघिका चुनावमा भोट माग्न आएका र चुनाव जितेकाहरु कता हराए, थाहा भएन,’ उहाँले भन्नु भयो, ‘विकास निर्माणका हिसाबमा यो क्षेत्रलाई सधैँ पछाडि पार्ने काम भयो । संकटका बेला पनि राजनीतिक दलबाट जनताले साथ पाएनन् ।’
साहले स्वतन्त्र उम्मेदवारको हैसियतमा निर्वाचित भए आफ्नो क्षेत्रका बासिन्दालाई शिक्षा, स्वास्थ्य र विकास निर्माणको पहुँचमा पुर्याउने घोषणा गर्नु भएको छ । निःशुल्क एम्बुलेन्स सेवा, उपचारमा गरीब, दलित र सिमान्तकृत वर्गको पहुँच, किसानलाई समयमै उन्नत जातको बिउविजन वितरणदेखि मल र सिँचाईको सुविधा उपलब्ध गराउने उहाँको प्रतिवद्धता छ । संसद विकास कोषबाट प्राप्त बजेट शिक्षा, स्वास्थ्य, खानेपानी तथा विकास निर्माणमा खर्च गरिने उहाँले बताउनु भयो ।
मजदुरलाई न्यूनतम पारिश्रमिक, गरिबका छोराछोरीलाई प्लस टुसम्म निःशुल्क शिक्षा, युवाका लागि देशमै रोजगारीको सिर्जना, सरकारी निकायमा सर्वसाधारणको सहज पहुँच, नयाँ उद्योग स्थापना, पारदर्शिता, औद्योगिक क्षेत्र सञ्चालन, विदेशी लगानीको संरक्षण, स्वदेशी लगानीको सम्वद्र्धन, जन्मशिद्धका नागरिकलाई वंशजका आधारमा नागरिकता लगायत उहाँका चुनावी एजेण्डा छन् ।
साहले उम्मेदवारी घोषणा गरेको मोरङ क्षेत्र नम्बर ५ मा यसअघिको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डल निर्वाचित हुनु भएको थियो । यो कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको निर्वाचन क्षेत्र पनि हो ।