विपिनको शव परिवारलाई जिम्मा लगाइयो, आज दाहसंस्कार गरिने

विराटनगर ४ कात्तिक । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर उनको परिवारलाई बुझाइएको छ । सोमबार साँझ धनगढी विमानस्थल पुर्‍याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानसहित परिवारलाई बुझाएको हो ।

जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बुझेका हुन्। उनको महाकाली घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । सोमबार दिउँसो उनको शव नेपाल ल्याइएको थियो ।

उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घरमा लगिएको छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।

त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।