विराटनगरबाट स्रोत नखुलेको १४ लाख ५० हजार बरामद

विराटनगर ७ असोज । विराटनगरबाट स्रोत नखुलेको नेपाली १४ लाख ५० हजार रूपैयाँ बरामद भएको छ । भारतबाट नेपालतर्फ ल्याइएको अवैध रकम प्रहरीले मंगलबार दिउँसो १२ः४५ बजेतिर बरामद गरेको हो ।

विराटनगर महानगरपालिका–१७ बाट ठूलो मात्रामा रकम बरामद गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको असई जागेन्द्र फुयाँल नेतृत्वको टोलीले भारतबाट शंकास्पद रूपमा नेपाल प्रवेश गरेको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहले चलाएको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा लुकाइछिपाइ ल्याएको रकम फेला परेको जानकारी चुँडालले दिनुभयो । उहाँका अनुसार साहको साथबाट १ हजार दरका २ सय ८४ र ५ सय दरका २ हजार ३ सय ३२ वटा नेपाली नोट बरामद भएको छ । उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले साहलाई पनि नियन्त्रणमा लिएको छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले अवैध रूपमा बरामद भएको रकमको स्रोत पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ । सो रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जानकारी चुँडालले दिनुभयो ।