आज संविधान दिवस मनाइँदै

विराटनगर ३ असोज । आज संविधान दिवस तथा राष्ट्रिय दिवस । विविध कार्यक्रमको आयोजना गरी मुलुकभर संविधान दिवस मनाइँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुँदैछ ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन ।

मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गर्नुभएको थियो ।

संविधान दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।