
विराटनगर १२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको बेथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त हुनुपर्नेमा जोड दिनु भएको छ ।
मादी माध्यमिक विद्यालय संखुवासभाको हीरक महोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धानरअन्वेषण लक्षित बनाउन पाठ्यक्रम, सिकाइ पद्दति र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार भएकाले शिक्षालाई सीप विकाससँग जोडेर लगानी गर्नुपर्ने धारणा राख्नुभयो । राजनीतिक परिवर्तन र आधुनिक समयको मागअनुरुप तीव्र विकासको चाहनालाई साकार बनाउने गुणस्तरीय, समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले दिनहुँ ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशका विकास, निर्माण तथा स्वरोजगारका क्षेत्रमा आबद्ध गर्न व्यावसायिक वातावरण सुधार गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नपाली जनताको ठूलो बलिदान, त्याग र सङ्घर्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको उल्लेख गर्दै यो व्यवस्थामार्फत समान रूपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो राजमार्गमा हाम्रो मुलुक अघि बढ्दै गएको धारणा राख्नुभयो ।