
विराटनगर ७ भदौ । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सरकारले ल्याउन लागेको कोशी प्रदेश आम सञ्चार विधेयक पत्रकारमैत्री हुनुपर्ने बताउनुभएको छ । विधेयक पत्रकारहरुको हितहुने गरिको हुनुपर्ने उहाँको भनाई छ ।
नेपाल पत्रकार महासंघ मोरङद्वारा आज विराटनगरमा आयोजित कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२ नेपाल प्रेस ईन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालालाई नगद २५ हजार सहित सम्मान गर्दै उहाँले कोशी प्रदेश आम सञ्चार विधेयक विधायन समितिबाट पारित भएर प्रदेश सभामा पेश भएको र पत्रकारहरुले विधेयक प्रेस मैत्री नभएको भन्दै आन्दोलित भएको अवस्थामा उहाँले प्रेसमैत्री बनाउनका लागि पहल गर्ने बताउनु भयो । उहाँले विधेयकबारे मुख्यमन्त्री र मन्त्रीसँग छलफल गर्ने समेत उहाँले बताउनुभयो । सभामुख विष्टले भन्नुभयो ‘ आम सञ्चार विधेयकमा पत्रकारको असन्तुष्टीबारे मेरो ध्यानाकर्षण भएको छ ।’
सम्मानित व्यक्तित्व कोइरालाले पुरस्कार वितरण गर्दा संस्थागत एवं कुशलगत रुपमा प्रदान गर्न आग्रह गर्दै यसबाट पुरस्कृत व्यक्तिलाई समाजप्रति थप प्रतिवद्ध बनाउन प्रेरणा प्रदान गर्ने बताउनु भयो । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, पत्रकार महासंघ मोरङका पूर्व सल्लाहकार अनन्तराज न्यौपाने, मोरङ अध्यक्ष सु्शिला पाठक, उपाध्यक्ष तारा आचार्यले प्रदेश सभामा पेश भएको सञ्चार विधेयकलाई सच्याई पत्रकार मैत्री बनाउनु पर्ने सुझाव दिनु भयो ।
कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यसअघि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्षहरु हरिहर विरही, विष्णु निष्ठुरी र धर्मेन्द्र झा सम्मानित भईसक्नु भएको छ ।