नेपालले घरेलु टोली उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै

विराटनगर २१ असार । एएफसी महिला एसियन कप छनोट २०२६ अस्ट्रेलियाको निर्णायक खेलमा शनिबार नेपालले घरेलु टोली उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ । समूह ‘एफ’मा नेपाल र उज्बेकिस्तान हालसम्म अपराजित रहेका छन । दुवै टोलीको समान ६ अंक र १७ गोल रहेको छ । यी दुई टोलीले अहिलेसम्म गोल बेहोरेका छैनन । नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले पाखा लगायो।

नेपाललाई झैं उज्बेकिस्तानलाई पनि यी दुई टोलीलाई पाखा लगाउन खासै समस्या परेन । उज्बेकिस्तानले श्रीलंकामाथि १०–० र लाओसमाथि ७ गोलको फराकिलो जित हासिल गरेको थियो । यो खेलमा जित हात पार्ने टोलीले अस्ट्रेलियाको टिकट पक्का गर्नेछ ।

हार्ने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।