खोटाङ सावा खोलामा बनेको ८ करोडको पुल उद्घाटन

खोटाङ, १० जेठ । खोटाङको सावा खोलाको सडक पुल शनिबार उद्घाटन भएको छ । कोशी प्रदेश सरकारले बनाएको उक्त पुलको उद्घाटन प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले गरेका  हुन ।

खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिका जोड्ने उक्त सडक पूर्वाधार विकास कार्यालय उदयपुरले निर्माण गरेको हो भने प्रादेशिक सडकपुल सहयोग इकाई इटहरीले प्राविधिक सहयोग गरेको हो । निर्माण व्यवसायी सुसम आदित्य बिजय निर्माण सेवा उदयपुरले २०८० वैशाख ११ गते पुल निर्माणको लागि ८ करोड ३ लाख ७८ हजार ७१५ रुपैयाँमा ठेक्कामा लिएको थियो ।

पुल निर्माण सम्पन्न भइसक्दा अन्तिम भुक्तानी भने ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ भएको छ । दुई वर्षको समयावधिमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुल समयमै सम्पन्न भएको हो । ४१.४० मिटर लामो उक्त पुलको चौडाई ८.४० मिटर रहेको छ भने फुटपाथको चौडाई १.२० मिटर दुवैतर्फ रहेको छ ।

पुल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भुपेन्द्र राईले अधुरा योजनाहरु जहिलेको चुनावी मुद्दा बन्नु नहुने बताए । ‘अब ठूला–ठूला नयाँ आयोजना बनाउने मुद्दा बन्नुपर्छ । जहिल्यै बन्न नसकेका विकास निर्माणका आयोजनाहरु चुनावी मुद्दा बन्नु हुँदैन,’ उनले भने । चुनावको बेलामा आएको विकासको बाढी अरुबेला आयो कि आएन भनेर जनताले सोध्नुपर्ने उनले बताए ।