विराटनगर ट्रक ब्यवसायी संघको अध्यक्षमा सिग्देल निर्वाचित

विराटनगर ३१ चैत । विराटनगर ट्रक ब्यवसायी संघको अध्यक्षमा यूवा व्यवसायी सन्जीव सिग्देल निर्वाचित हुनु भएको छ ।

अध्यक्षका अर्का उम्मेदवारलाई २६ मतान्तरले पराजित गर्दै अध्यक्षमा सिग्देल निर्वाचित हुनु भएको हो । उहाँले १२५ मत प्राप्त गर्नु भयो । उहाँका निकटतम् प्रतिष्पर्धी नरबहादुर भण्डारीले ९९ मत प्राप्त गर्नु भएको थियो । विराटनगरमा शनिबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुशार सिग्देलको प्यानलनै निर्वाचित भएको छ ।

ट्रक ब्यवसायी संघको उपाध्यक्षमा अशोक पोद्धार, महासचिवमा रमेश श्रेष्ठ, सचिवमा रामचन्द्र दाहाल र कोषाध्यक्षमा खगेन्द्र सिग्देल निर्वाचित हुनु भएको छ । सदस्यहरुमा दिलिपकुमार धाडेबा, युवराज श्रेष्ठ, वीरबहादुर गिरी, दिनेश सिग्देल, ध्रुवप्रसाद काफ्ले, तुलसी पोखरेल र मेखबहादुर अधिकारी निर्वाचित हुनु भएको छ ।

यसअघि फागुन २६ गते संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभाको उद्घाटन भए पनि त्यसपछिको प्रक्रिया स्थगित हुन पुगेको थियो । साधारणसभामा गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन हुन सकेको थिएन ।

संघमा आवद्ध रहेका २५१ सदस्यहरू मध्ये साधारणसभामा १४४ जना मात्रै उपस्थित भएपछि नरबहादुर भण्डारी नेतृत्वको असन्तुष्ट पक्षले उपस्थितिमा हस्ताक्षर नगर्दा अधिवेशन स्थगित भएको थियो ।