
विराटनगर ८ फागुन । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप १४ लाख बढी किशोरीले लगाएका छन ।
सरकारले राष्ट्रव्यापी रुपमा सञ्चालन गरेको खोप अभियानबाट १४ लाख ३२ हजार ८०७ किशोरीले खोप लगाएका हुन । माघ २२ देखि फागुन ६ गतेसम्म सरकारले देशैभर खोप अभियान सञ्चालन गरेको थियो । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार यो प्रारम्भिक नतिजा मात्र हो । यसको अन्तिम तथ्यांक आउन करिब एक साता लाग्ने शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।
सो अभियानबाट १५ लाख ६० हजार ८ जना किशोरी लाभान्वित हुने अपेक्षा गरिएकोमा प्रारम्भिक तथ्यांक अनुुसार साढे १४ लाख किशोरीले मात्र खोप लगाएका छन । डा गौतमले भन्नुभयोे, ‘यो प्रारम्भिक संख्या मात्र हुन । तथ्यांक संकलन अहिले पनि भइरहेको छ । करिब एक सातापछि हामी अन्तिम नतिजा सार्वजनिक गर्छाै ।’ उहाँका अनुसार देशभर ९२ प्रतिशत खोप कभरेज भएका छन । खोप उपलब्धिका आधारमा कोशी र जनसंख्याका आधारमा बागमती प्रदेशमा धेरै खोप कभरेज भएको उहाँले बताउनुभयो ।
कोशी प्रदेशमा २ लाख ३२ हजार १०१, मधेशमा ३ लाख ४३ हजार ४८५, बागमतीमा २ लाख ५६ हजार २२१, गण्डकीमा १ लाख २ हजार २४७, लुम्बिनीमा २ लाख ५८ हजार १६८, कर्णालीमा ९ हजार ५६६ जनाले खोप लगाएका छन ।