कोशी प्रदेश : तीन वर्षमा १३० बालबालिका हराए, ११० को उद्धार गरि परिवारको जिम्मा लगाइयो

उद्धार गरिएका बालबालिका विराटनगर महानगरपालिकालाई हस्तान्तरण गर्दै राज्यमन्त्री राई ।

विराटनगर १३ माघ । विराटनगर १५ का ५१ वर्षीय लक्ष्मण चौधरी (माझी)का दुई छोराहरु (११ वर्ष र ७ वर्ष) गत कात्तिक ९ गतेदेखि घरबाटै बेपत्ता भए । गाउँघरमा तिहारको रमझम चलिरहेको थियो । ३ सय रुपैयाँ लिएर पटका किन्न हिँडेका छोराहरु राती अवेर सम्म घर फर्किएनन् ।

२ दिन सम्म लक्ष्मणले छोराहरुको बाटो हेर । तर, छोराहरु घर नफर्कीएपछि प्रहरी, बालबालिका खोज तलास समन्वय केन्द्र १०४ मा उनले निवेदन दिए । निवेदन दिएपछि पनि उनी निरन्तर प्रहरी र १०४ को सम्पर्कमा रहीरहे । छोराहरुको कतैबाट खवर आउन सकेन । कवाडी मजदुरका रुपमा काम गर्ने उनी दैनिक छोराहरु घर आउलान भन्दै बाटो हेर्थे ।
घरबाट हिँडेको धेरै समय सम्म फेला नपरेपछि उनलाई अव भेटिदैन की जस्तो लागेको थियो । उनले भने,‘ बेचविखनमा परेकी जस्तो लागेको थियो । ’ छोराहरु भेटिएकोमा धेरै खुशी लागेको उनले बताए । चौधरीले भने,‘ आज छोराहरुसँग भेट भयो । नेपाल सरकारलाई धेरै धेरै धन्यवाद ।’ अव छोराहरुलाई घरमा त्यत्तिकै छाड्दिन उनले भने । सरस्वती पुजादेखि स्कुल पठाउने उनले बताए ।

लक्ष्मणको घरबाट छोराहरु हराएको यो पहिलो पटक भने थिएन । यसअघि पनि उनको ७ वर्षीय कान्छो छोरा हराएको थियो । ३ महिना पछि फेला परेको थियो । ६ जना छोराछारी मध्ये ४ छोरीको विवाह भईसकेको उनले बताए ।

लक्ष्मणको जस्तै विराटनगर १३ की सोनी खातुनका दुई छोरीहरु घरबाट एकै दिन वेपत्ता भए । १३ र १० वर्षका छोरीहरु एकै दिन हराए । परिवारले आफन्त सवै तिर खोजी गरे । कतै फेला पार्न सकेनन् । कतै फेला नपरेपछि प्रहरी र बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मा खवर गरे । बालिकाहरु हराएको ३ महिना पछि भारत कटिहारबाट उद्धार गरेर आईतबार परिवारको जिम्मा लगाइयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईतबार हराएका बालबालिका उद्धार गरि पारिवारिक पुर्नमिलन लागि आयोजित कार्यक्रममा विराटनगरका ५ बालबालिकालाई परिवारको जिम्मा लगाईएको थियो । माघ १२ गते भारतको पूर्णिया जिल्ला कटिहार स्थित बालकल्याण गृहबाट उद्धार गरि ल्याएका १३, १७ बर्षिया बालिका, १०, ११ र ७ वर्षका बालकहरुलाई अभिभावकको जिम्मा लगाईएको थियो । ५ जना मध्ये २ बालिका सोनी खातुनका र २ बालक लक्ष्मण चौधरीका हुन ।

लक्ष्मण र सोनीका छोराछोरी जस्तै १३० जना बालबालिकाहरु पछिल्लो ३ वर्षमा कोशी प्रदेशबाट हराएका छन् । हराएका मध्ये ११० जना बालबालिकाहरुको उद्धार गरिएको छ । २० जना अझै फेला पार्न नसकिएको बालबालिका बालबालिका खोज तलास समन्वय केन्द्र १०४ कोशी प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिए । उनले भने,‘ ११० जनाको उद्धार गरि परिवारको जिम्मा लगाईएको छ ।’

कोशी प्रदेशका विभिन्न सहरहरुमा सडक आश्रित १६२ जना सडक बालबालिकाहरु उद्धार गरी सामाजिकीकरण प्रकृयामा रहेको समन्वय अधिकृत अधिकारीले बताए । उनका अनुसार ३३ जना विभिन्न अवस्थामा वेवारिसे अवस्था फेला पारि उद्धार गरी संरक्षण तथा व्यवस्थापन गरिएको छ । कोशी प्रदेशमा बालबालिका सम्वन्धी ऐन, २०७५ को कार्यान्वयन गरी बालसंरक्षण तथा प्रवर्दन गर्न स्थानीय तहहरुमा सहजिकरण गर्दै हाल सम्म १०० स्थानीय तहको कार्यविधि निर्माण, ९६ स्थानीय तहमा बालकल्याण अधिकारीको प्रवन्ध, ७० स्थानीय तहमा स्थानीय बालअधिकार समितिको गठन, ५८ स्थानीय तहमा बालकोषको प्रवन्ध र १४ स्थानीय तहमा बालमनोविज्ञ र समाजसेवीको सुचिकृत भएको अवस्था रहेको समन्वय अधिकृत अधिकारीले बताए ।

कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राइले खुल्ला सिमानाका कारण बालबालिकाहरु हराउने गरेको बताईन । उनले खुल्ला सिमा क्षेत्रमा सचेतना आवस्यक रहेकोमा जोड दिईन । उनले परिवारले पनि बालबालिकाहरुको सुरक्षाबारे ध्यान दिनुपर्ने बताईन । प्रदेश सरकारले खुल्ला सीमा क्षेत्रका बालबालिकालाई केन्द्रमा राखेर आगामी दिनमा कार्यक्रम तय गर्ने बताईन ।

भारतमा फेला पारिएका बालबालिका, महिलाहरुको उद्धार गरि नेपाल फिर्ता गर्ने कार्य गर्दै आएको भारत नयाँ दिल्ली स्थित किन इन्डियाका निर्देशक नविन जोशीले नेपालबाट बेचविखनमा परेका, भारतमा उच्च जोखिममा परेका लागि उद्धार गरि नेपाल फिर्ता पठाउने र नेपालमा फेला परेकालाई भारत फिर्ता गराउने काम गर्दै आएको बताए । उनले हाल सम्म किन इन्डियाले ८ सय जना उद्धार गरि फिर्ता गरिएको बताए । किन इन्डियाले नेपाल र भारत सरकारसँग समन्वय गरेर काम गरिरहेको उनले बताए । पछिल्लो पटक उद्धार गरि फिर्ता गरिएकाहरु रेल्वे, वस स्टेशनमा फेला परेको बताए ।

भारतमा प्रहरीले उद्धार गरेर महिला तथा बालबालिकाको संरक्षणको क्षेत्रमा काम गर्ने संस्थासँग समन्वय गरि सुरक्षित आवासमा राखेर हराएका हरुको सोधिखोजी गरि नेपाल फर्काउने गरिएको बताए । भारतबाट उद्धार गरिएकालाई नेपाल फर्काउन लामो प्रकृया पुरा गर्नु पर्ने उनले बताए । उनले भने,‘ भारतबाट नेपाल फिर्ता गर्ने प्रकृया लामो छ ।’