विराटनगर १२ कात्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले ०४६ सालपछि लाभको पदमा पुगेका एमालेका सवै नेताहरुको सूची सार्वजनिक गरिने बताउनु भएको छ ।
एमालेले नेताहरुको सूची तयार गरिरहेको उहाँले जानकारी दिनुभयो । छानवीनका लागि एमालेले सरकारलाई आह्वान गर्ने उहाँको भनाई छ । नेता राईले भन्नुभयो,‘ एमालेले नेताको सूची सार्वजनिक गर्छ । छानवीन होस् । दोशी देखिए कारवाही होस् । एमाले भ्रष्टाचारको आरोपबाट बाहिर आउन तयार छ ।’ प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको संवाद कार्यक्रममा नेता राईले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ म तीन पटक सांसद भएँ । एक पटक संघीय मन्त्री र साढे ३ वर्ष कोशीको मुख्यमन्त्री भएँ । म बाटै छानवीनको शुरुवात होस् । म तयार छु ।’
मुलुकलाई संविधानको बाटोमा ल्याउन संसद पुनःस्थापना हुनुपर्ने नेकपा एमालेको माग रहेको उहाँले बताउनुभयो । बर्तमान सरकार असंवैधानिक भएकाले खारेज गर्नुपर्ने नेता राईले बताउनुभयो । असंवैधानिक सरकार खारेज गरि जनताको सरकार चाँडै बन्ने नेता राईको दावी छ । उहाँले भन्नुभयो,‘ अहिले पनि सुरक्षाकर्मीका हातहतियार आन्दोलनकारीसँगै रहेकाले निश्पक्ष एवं भयरहित निर्वाचनको त कल्पना पनि गर्न सकिदैन ।’ यो सरकार निर्वाचनका लागि गठन नभएको उहाँको आरोप छ । जेनजी आन्दोलनका क्रममा देशी–विदेशी घुसपैठ भएको उहाँले दावी गर्नुभयो ।
गत भदौ २३ र २४ गतेको घटनालाई फरक–फरक रुपमा विश्लेषण गरि दोषी देखिएकालाई कारवाही गर्नुपर्ने उहाँले बताउनुभयो । नेता राईले भन्नुभयो,‘ गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग खारेज गरि अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्नु आवस्यक छ ।’ बर्तमान असंवैधानिक सरकारका विरुद्ध एमालेले भेला, बैठक, जनप्रर्दशनका कार्यक्रम शुरु गरिसकेको उहाँले जानकारी दिनुभयो ।
आजदेखि कात्तिक २५ गते सम्म कोशी प्रदेशभर भेला, जनप्रदर्शनका कार्यक्रम हुनेछन् । एमालेका २३ वटै जनवर्गीय संगठन परिचालन गरि कोशी प्रदेशमा सवा लाख कार्यकर्ता सडकमा उतार्ने नेता राईले बताउनुभयो ।
एमालेलाई निर्णायक शक्तिमा बदल्नेगरि जिल्ला–जिल्लामा भेला, प्रर्दशनको तयारी शुरु भएको उहाँले बताउनुभयो । नेकपा एमाले अहिले राष्ट्रिय महाधिवेशनमा जुटिसकेको बताउँदै उहाँले सडकबाट नेतृत्व परिवर्तन नहुने बताउनुभयो । उहाँले भन्नुभयो,‘ सडकबाट गलहत्याउने कुरा असान्दर्भीक तथा बेठिक भएको केन्द्रीय कमिटी बैठकको निश्कर्ष छ ।’ महाधिवेशनबाट नेतृत्व चयन हुने उहाँले बताउनुभयो ।