विराटनगर १२ कात्तिक । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संस्थाको नियम विपरीत कार्य गर्ने पाँच जना कर्मचारीलाई बर्खास्त र तीन जनामाथि विभागीय कारबाही अगाडि बढाएको छ ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार बर्खास्तमा पर्नेमा प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ तथा पूर्व–रजिस्ट्रार प्रा.डा. मोहन्चन्द्र रेग्मी रहेका छन् । रेग्मी प्रतिष्ठानमा कार्यरत रहँदै काठमाडौंस्थित सिभिल अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । उनी दुई वर्षका लागि काजमा गएका थिए तर काज अवधि सकिएपछि पनि प्रतिष्ठानमा हाजिर नगरेकाले कार्यकारिणी समितिको निर्णयअनुसार उनलाई बर्खास्त गरिएको रजिस्ट्रार संग्रौलाले बताउनुभयो ।
प्रतिष्ठानकै स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनकी असिस्टेन्ट प्रोफेसर तथा डा. रेग्मीकी पत्नी लक्ष्मी सुवेदीलाई पनि बर्खास्त गरिएको छ । सुवेदीलाई अध्ययन बिदा स्वीकृत नगरी नियम विपरीत विदेश गएको पुष्टि भएपछि उनलाईसमेत बर्खास्त गरिएको रजिस्ट्रार संग्रौलाले बताएका छन् । त्यस्तै, प्रतिष्ठानका अन्य कर्मचारीहरू दिरण भट्टराई र सुरेन बास्फोर पनि बर्खास्तीमा परेका छन् ।
कर्मचारीहरूले काममा लापरबाही, प्रशासनिक नियम उल्लंघन र अनुशासनहीन व्यवहार गरेको आरोपमा बर्खास्तीको कारबाही गरिएको रजिस्ट्रार संग्रौलाले बताउनुभयो । यस्तै, हाडजोर्नी विभागका प्रमुख डा. रोशन कलवार र शाखा अधिकृत कान्तलाल चौधरीमाथि एक ग्रेड घटाई विभागीय कारबाही गरिएको छ । उनीहरूलेसमेत पदको दुरुपयोग र आन्तरिक नियमविपरीत काम गरेको पाएपछि त्यसअनुसार कारबाही अगाडि बढाइएको प्रतिष्ठानले जनाएको छ ।