विराटनगर ९ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले केपी शर्मा ओली नेतृत्वकाे सरकार ढल्ने विषयमा सत्यता नभएको बताउनु भएकाे छ ।
गठबन्धन सरकारले सात बुँदे सम्झौता अनुरुप काम गर्नुपर्नेमा जोड दिनुभयाे ।
नेपाल प्रेस युनियन माेरङले आज विहान काेइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उहाले भन्नुभयाे, ‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गंभीरतापूर्वक लिएर सरकारले काम गर्नुपर्ने हो। ६ महिनाको यो अवधि काममा धेरै त होइन । तर जसरी अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन ।’
संविधान संशोधन ०८७ पछि हुने प्रधानमन्त्रीको अभिब्यक्तीबारे उहाँले दुई दलबीचको छलफलले मात्र संविधान संशोधनको विषय नसकिने र संशोधनको विषयलाई जनतामाझ लैजानुपर्नेमा जोडदिनुभयाे ।
लोकतान्त्रिक ब्यवस्थामा देश संयन्त्रले चलाउन खोजिनु गलत हुने डा. कोइरालाकाे भनाई छ । देश सरकारले चलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संयन्त्रबाट चलाउन खोजिरहेको बताउनुभयाे ।
सरकारले ल्याएको अध्यादेशको विषयमा समेत नेता कोइरालाले असन्तुष्टि ब्यक्त गर्नुभयाे । उहाले भन्नुभयाे,´ माघ १८ गते संसद बोलाएको छ । अध्यादेशपनि केहीसमय पर्खेर संसद खोलेर ल्याउँदा हुने थियो नि । ६ महिनामा केही भएर सातदिन दसदिनमा के पल्टिहाल्छ ? पहिले संसद बोलाएको भए हुन्थ्यो नि।’
नेता कोइरालाले अध्यादेशबाट मुलुक चलाउनुलाई निरंकुशताको एक चरण भएकोमा चिन्ता ब्यक्त गर्नुभयाे ।