विराटनगर २७ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फमा ६ दलले मात्रै थ्रेसहोल्ड कटाएका छन् । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी हावी हुँदा कांग्रेस एमालेसहित अन्य दलहरू खुम्चिएका छन् ।
थ्रेसहोल्ड कटाउनेमा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा रहेका छन् । कुल १ करोड ७ लाख ८५ हजार ८७६ मतमा रास्वपाले ५१ लाख ५७ हजार ९३० (४७.८२ प्रतिशत) मत पायो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२ मत (१६.२८ प्रतिशत) पाउँदा तेस्रो स्थानमा रहेको १४ लाख ५२ हजार ७५८ मत (१३.४७ प्रतिशत) पायो ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ९ हजार ५७७ मत (७.५१ प्रतिशत), पाँचौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ मत (३.५८ प्रतिशत) र छैटौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार २६८ मत (३.०६ प्रतिशत) मत पायो ।
प्रत्यक्षतर्फ रास्वपाले १२५, कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृतिले ३ र राप्रपाले १ ठाउँमा जित निकाल्दा, एक सीट स्वतन्त्रले जितेको छ । यो मत परिणाम अनुसार रास्वपालाई दुई तिहाइ पुग्नको लागि दुई सीट कम हुने देखिएको छ ।
दुई तिहाइ पुग्नको लागि १८४ सीट चाहिन्छ । तर, समानुपातिकतर्फ रास्वपाले पाएको मत अनुसार उसले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४र४ सीट पाउने भएका छन् । अब प्रत्यक्ष र समानुपातिक गरी संसद्मा रास्वपाको १८२, कांग्रेसको ३८, एमालेको २५, नेकपाको १७, श्रम संस्कृतिको ७, राप्रपाको ५ र एक स्वतन्त्र सांसद हुनेछन् ।
निर्वाचन आयोगका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ सम्बन्धित निर्वाचन क्षेत्रबाट मतगणनाको प्रतिवेदन सङ्कलन गर्ने काम भइरहेको बताए । त्यसलगतै समानुपातिकतर्फ प्राप्त गरेको सीट सङ्ख्या यकिन गरेर उम्मेदवार सिफारिस गर्नको लागि सम्बन्धित दललाई पत्राचार गरिने बताए ।