विराटनगर २७ फागुन । संखुवासभा जिल्ला स्तरिय खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिताको उपाधि हिमचुली र चप्लेटी युवा क्लवले जितेका छन् । ११६ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गतेदेखि संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ७ मा आयोजित प्रतियोगिता आज सम्पन्न भएको छ ।
प्रतियोगितामा पुरुष तर्फ हिमचुली र महिला तर्फ चप्लेटीले उपाधि जितेको आयोजक पिपलडाँडा यूवा क्लवका अध्यक्ष सांगे शेर्पाले जानकारी दिनुभयो । हिमचुलीले १५ हजार ५ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । चप्लेटी यूवा क्लवले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरुष फुटवलको उपविजेता आयोजक (ए) भएको छ । उसले ८ हजार ५ नगद, ट्रफी र मेडल प्राप्त गरेको छ । महिला फुटवल तर्फको उपविजेता आयोजक (ए) भएको छ । उसले २ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको छ । उत्कृष्ट खेलाडीको उपाधि आयोजक एका सौरभ श्रेष्ठ, गोल रक्षक हिमचुलीका नगेन्द्र लिम्वु घोषित भएका थिए ।
प्रतियोगितामा पुरुष फुटवल तर्फ ३६ र महिला फुटवल तर्फ ७ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता, उपविजेता टोलीलाई स्थानीय समाजसेवी सुन्दर तामाङले नगद, ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
