विराटनगर ९ पुस । विराट मेडिकल कलेज शिक्षण अस्पताल अन्र्तगतको रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले बेल अफ सेलिब्रेसन ( विजय सुचक घण्टी) कार्यक्रमको शुरुवात गरेको छ । विराट मेडिकल कलेजको १० औं बार्षिकोत्सवको अवसर पारेर आज विजय सुचक घण्टी कार्यक्रमको शुभारम्भ गरिएको हो ।
विरामीहरुले क्यान्सरसँग लड्न देखाएको हिम्मत र शक्तिका कारण प्राप्त गरेको जितको सम्मान र अन्य विरामी, चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको सदस्यहरुको प्रेरणा र थप उर्जा प्रदानका लागि बेल अफ सेलिब्रेसन कार्यक्रम ल्याईएको अस्पतालले जनाएको छ । यस कार्यक्रमले विरामी भित्रको अविश्वास र कमजोर मनोवललाई तोडेर आत्मशक्ति र आत्मक्षमता सहितको अधम्य र अद्भुत साहसलाई प्रतिनिधित्व गर्ने विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ ।
विराट मेडिकल कलेज परिसरमा राखिएको विजय सुचक घण्टी क्यान्सरका विरामीको उपचार शुरु गर्दा वा उपचार सकिएपछि, स्वास्थ्य लक्ष्यहरु हाँसिल गर्दा वा दुखाई मुक्त हुने दिन, नयाँ अवसर जस्तै क्निकल ट्रायलमा सहभागि हुँदा, पारिवारिक कार्यक्रमहरु वा व्यक्तिगत विजयमा, रोग स्थिर रहेको छ र अगाडी बढेको छैन भन्ने खवर पाएको वेला, उपचारले सकारात्मक प्रभाव देखाएको उत्सवमा र प्रत्येक दिनको जीवनलाई पूर्णताले जिउने उत्सवमा बजाईने विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले जानकारी दिनुभयो । गत वर्षको माघ २१ देखि क्यान्सरको उपचारमा पहुँचको दुरीलाई बन्द गरौं भन्ने नाराका साथ शुरु भएको रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटबाट ३० हजारले बहिरंग सेवा लिएका छन् । २ हजारले सर्जरी सेवा लिएको बताईएको छ । कोशी प्रदेशका १६० स्थानमा गरिएको स्क्रिनिङ शिविरबाट १२ हजारले सेवा लिएको कार्यक्रममा जानकारी दिईएको छ ।
कार्यक्रममा विराट मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमानसिंह कार्कीले क्यान्सरलाई अवसरका रुपमा हिँड्न सके रोगलाई जित्न सकिने बताउनुभयो । उहाँले क्यान्सरको उपचार निशुल्क गर्न आवस्यक रहेको बताउनुभयो । उहाँले राज्य संवेदनशिल भएर सरकारी र निजीलाई हेर्ने एउटै दृष्टिकोण बनाए निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्ने बताउनुभयो । डा. कार्कीले भन्नुभयो,‘ निजी अस्पतालहरु प्नि राज्यकै हो भन्ने कुराको विकास हुन सकेन ।’ क्यान्सर पीडितका लागि सरकारले दिने १ लाख रुपैयाँ कम भएको उहाँको भनाई छ । डा. कार्कीले नेपालभरिका जुनसुकै क्षेत्रका चिकित्सक विरामी भएर उपचार गर्न नसक्ने अवस्थामा पुगेकाहरुलाई निशुल्क रुपमा उपचार गरिदिने समेत बताउनुभयो । उहाँले भन्नुभयो,‘ चिकित्सक विरामी भएर उपचार गराउन नसकेर चन्दा मागेर उपचार गराएको देख्दा दुःख लाग्यो ।’ मागेर उपचार गराउनु पर्ने अवस्थाका चिकित्सकको निशुल्क उपचार हामी गर्छौं उहाँले भन्नुभयो ।
कार्यक्रममा रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट इष्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपका सदस्य कमल पौडेलले हौसलाले रोग जित्न सकिने बताउनुभयो । उहाँले क्यान्सर रोगको भ्रमका कारण मानिसहरु क्यान्सर शब्दले नै थिचेर मार्ने हो की भन्ने लागेको उहाँको भनाई छ । ब्लड क्यान्सर मुक्त हुनु भएका पौडेलले विरामीलाई हौसला आवस्यक रहेको बताउनुभयो ।