नेत्र पी अधिकारी
विराटनगर १६ मंसिर । मोरङ रंगेलीकी ४८ बर्षीया एक महिला हात्तीपाईले रोगका कारण पीडित भएको २० वर्ष भयो । हात्तीपाईलेका कारण उनको दैनिकी नै प्रभावित बनेको छ । हिँडडुलमा समस्या हुँदै आएको छ । सहजरुपमा घर, करेसाबारीको काम गर्न सक्दिनन् ।
हात्तीपाईलेका कारण कष्टपूर्ण जीवन विताईरहेकी उनका लागि पछिल्ला वर्षहरु विगत भन्दा सहज बन्दै गएको छ । विगत भन्दा उनले अहिले केही सहजता महसुस गर्दै आएकी छिन् । पछिल्लो २ वर्षदेखि उनलाई विगत भन्दा केही सहज भएको छ ।
फेयरमेडको सहयोगमा सहारा नेपालद्धारा सञ्चालित विश्वास परियोजनाले स्वहेरचाह तालिम दिएपछि उनले आफ्नो खुट्टाको हेरचाह र संक्रमण हुन दिएकी छैनन् । उनले भनिन्,‘ पहिले चोटपटक लाग्दा ज्यान नै गएजस्तो पीडा हुन्थ्यो ।’ तालिम पछि खुट्टाको हेरचाह राम्रोसँग गर्न सकेको उनले बताईन । दुईवर्षदेखि खुट्टाको पीडा अहिले कम भएको भएको उनको भनाई छ । उनले भनिन्,‘ खुट्टाको केही तौल घटेको अनुभव भएको छ ।’
हातीपाईले रोगबाट पीडित उनलाई शुरुमा अस्पतालसम्म लगिएको थियो । उनलाई चेकजाँच गराउने क्रममा चिकित्सकले उनको शरिरमा रहेको घाउ जटिल अबस्थामा रहेकोले स्वयम् हेरचाह गर्नु पर्ने सुझाव दिए । त्यसैको आधारमा उनले आफैँले हेरचाह गर्ने सीप सिक्ने इच्छा ब्यक्त गरिन् । त्यसैको आधारमा परियोजनाको तर्फबाट उनलाई सेल्फ केयर तालिम प्रदान गरिएको सहारा नेपालकी सामाजिक स्वास्थ्य परिचालक पुजा साहले बताईन । ‘हामीले उहाँलाई अस्पतालसम्म पुर्यायौँ, उनले भनिन्, चिकित्सकको सल्लाहको आधारमा सेल्फ केयर तालिम दिएपछि अहिले धेरै सजिलो भएको छ ।’ स्वयम् हेरचाह गर्न सिकेपछि उनले अहिले हात्तीपाईलेको घाउको सरसफाई आफैँ गर्दै आएकी छिन् । आफैँले स्वयम् सरसफाई तथा हेरचाह गर्दा बर्षमा एक÷दुई पटक पनि अस्पतालसम्म जानु नपरेको उनले सुनाईन् । अहिले स्वास्थ्य परिचालकहरु बिभिन्न समयमा निगरानीमा आउने गरेको पनि उनले बताईन् । सहाराको अग्रसरतामा उनले अपाङ्गता परिचयपत्र पनि पाएकी छिन् ।
रंगेलीकी ४८ वर्षीया महिला जस्तै रंगेली नगरपालिका भित्र हात्तीपाईलेका कारण स्वास्थ्य समस्या भएकाहरु २५० जना छन् । लामखुट्टेको टोकाईबाट लाग्ने हात्तिपाईले रोग असर खुट्टा, स्तन र हाइड्रोसिलमा देखिने गरेको विज्ञहरुको भनाई छ । रंगेली नगरपालिका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र मण्डलले भने,‘ खुट्टा, स्तन तथा अण्डकोष सुनिने खालका लक्षण भएकाहरु २५० को हाराहारीमा छन ।’ खुट्टा सुनिने खालको हात्तीपाईलेको समस्या भएकाहरु ३८ जना छन् ।’ उनले कुष्ठरोगी र हात्तीपाईलेले एकै प्रकृतिको भएकोले शारिरीक अपाङ्गता बनाउने तथा हानी गर्ने बताए ।
फेयर मेडको सहयोगमा सहारा नेपालले विश्वास परियोजना झापा र मोरङमा सञ्चालित छ । परियोजना अन्र्तगत उपेक्षित तथा उष्णप्रदेशीय रोग, मातृ तथा नवजात शिशु स्याहार अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य सुधारमा काम गर्दै आएको कार्यक्रम संयोजक पवन राईले बताए । परियोजना मोरङको उर्लावारी, पथरीशनिश्चरे, जहदा, धनपालथान, रंगेली, रतुवामाई र सुनवर्सी लगायतका स्थानीय संचालित छ ।
संयोजक राईका अनुशार मोरङमा हात्तीपाईलेका नयाँ तथा पुरानो रोगका कारण ३ हजार २० जना पीडित छन् । हात्तीपाईले तथा कुष्ठरोगका कारण स्वास्थ्य समस्या भएकाहरु ३३६ जनालाई स्वास्थ्य हेरचाह तालिम दिईएको र उहाँहरुले स्वयं हेरचाह गर्न थालेको संयोजक राईले बताए । उनले भने,‘ रेफरल प्रणाली मार्फत ७० जना विशेषपरिस्थितिका कुष्ठरोगी र हात्तीपाईले प्रभावितव्यक्तिहरुको विरामीपनमा सुधार भएको छ ।’ ७६ जना अपाङ्गता भएका व्यक्तिहरुले सहायक सामग्री पाएको र कुष्ठरोग र हात्तीपाईलेबाट प्रभावित ९२ जनालाई सीपमुलक तालिम दिईएको राईले बताए । उनले भने,‘ ३० जना कुष्ठरोग र हात्तीपाईलेबाट प्रभावित भई अपाङ्गता भएका व्यक्तिहरुलाई मिलिजुली समूहमा राखिएको छ ।’
सहारा नेपालले उपेक्षित उष्णप्रदेशीय रोगहरु, मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम र अपाङ्गता समावेशी विकास कार्यक्रमलाई लक्षित गरिरहेको छ । नेपालले उपेक्षित उष्णप्रदेशीय रोगहरुमा कुष्ठरोग, हात्तीपाईले, डेंगु, रेविज, जुकाहरु, सर्पदंश, कालाजार, लुतो, फित्तेजुका, खस्रे रोग छन् । अहिले नयाँ रोगका रुपमा नोमा पहिचान गरिएको छ ।
उपेक्षित उष्णप्रदेशीय रोगहरुको बारेमा नागरिकसम्म सचेतना पुर्याई त्यसको रोकथामको लागि फेयरमेडको सहयोगमा कोशी प्रदेशका ३ वटा जिल्लामा यो कार्यक्रम संचालित छ । फेयरमेडका टिम लिडर डम्बरसिंह गुरुङले बिभिन्न १० प्रकारका उपेक्षित उष्णप्रदेशीय रोगहरु, नवजात शिशु स्याहार र अपाङ्गता भएका ब्यक्तिहरुको क्षेत्रमा काम गरिरहेको बताए । उनले विकास र स्वास्थ्यमा अहिले ध्यान केन्द्रीत गर्न आवस्यक रहेको बताए । उनले भने,‘ विकास र स्वास्थ्यमा संचारकर्मीको भूमिका आवस्यक छ ।’
हात्तीपाइले रोग भनेको के हो?
हात्तीपाइले (फाइलेरिया) सरूवा रोग हो । यो लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो । लामखुट्टेले हात्तीपाइले रोग भएको मानिसलाई टोकेर उसमा भएको परजीवी आफूमा लिन्छ र अरू स्वस्थ मान्छेलाई टोकेर ती परजीवी त्यसलाई सारीदिन्छ । यसरी लामखुट्टेले हात्तीपाइले रोग एक व्यक्तिबाट अर्काे व्यक्तिलाई सार्ने काम गर्दछ ।
हात्तीपाइले रोग लाग्दा देखिने लक्षणहरु
शुरू शुरूमा यो रोगको परजीवी मानिसको शरीरभित्र भएता पनि हात्तीपाइले रोगको कुनै लक्षण देखिंदैन । लामो समयपछि एक वर्ष वा त्यो भन्दा बढि समयपछि मात्र रोगको लक्षणहरू देखिनसक्छ । ज्वरो आउनु, जाडो लाग्नु, शरीरमा विभिन्न भागहरूमा गिर्खा आउनु, दुख्न, हात गोडाहरूमा निला र काला धर्साहरू देखापर्नु, महिलाहरूलाई यो रोग लागेको भए स्तन फुलेर ठूलो हुनु, पुरुषहरुलाई यो रोग लागेको भए अण्डकोष ठूलो हुन वा हाइड्रोसिल हुनु, बिरामीका यौन अंगहरू सुन्निनु, रोग पुरानो हुँदै गएमा गोडा फुलेर हात्तीको जस्तो ठूलो हुनु, बिरामीको पिसाब सेतो रंग वा दही जस्तो हुनु यो रोगले शारीरिक असमर्थता पनि हुने भएकोले मानसिक तनाव। बढी भई कामकाज गर्न सकिँदैन ।
हात्तीपाइले रोग लागेमा के गर्ने?
हात्तीपाइले रोगका लक्षणहरू देखिएमा सेवा, सल्लाह तथा उपचारको लागि तुरून्तै नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ ।
हात्तीपाइले रोग नै लाग्न नदिन के गर्ने?
हात्तीपाइले लामखुट्टेको टोकाइबाट लाग्ने भएकोले लामखुट्टेको टोकाइबाट बच्न यी निम्न उपायहरू अपनाउनु पर्छ : सुत्ने बेलामा सधै झुल प्रयोग गरी सुत्ने, पुरा बाहुला भएको लुगा र सम्पुर्ण शरीर छोप्ने लुगा लगाउने, घरबाहिर बस्दा वा सुत्दा शरीरको कुनै भाग खुला रहने भएमा लामखुट्टेले नटोक्ने मलम लगाउने, लामखुट्टे भगाउने धुप बाल्ने लामखट्टे नियन्त्रणका लागि घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने , झ्यालढोकामा मसिनो जाली लगाउने , गाउँ नजिकै पोखरी भएमा लामखुट्टेले फुल (लार्भा) नपारोस् भन्नाका लागि लार्भा खाने माछा पाल्ने ।