विराटनगर १५ मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिनु भएको छ ।
नेकपाले विराटनगरमा आज आयोजना गरेको सन्देश सभामा उहाँले पार्टी एकतापछि नेकपाले सन्देशसभा आयोजना गरेर चुनावी वातावरण निर्माण गरिरहेकाले फागुन २१ मै चुनाव हुनुपर्ने बताउनुभयो । उहाँले आन्तरिम सरकारका मन्त्रीलाई दीर्घकालीन असर पर्ने काम नगर्न आग्रह समेत गर्नुभयो । नेपालको शान्ति प्रक्रियामा कम्युनिस्ट र लोकतान्त्रिक पार्टी मिलेर अघि बढाएको बताउँदै उहाँले जेनजी आन्दोलनपछिको परिस्थितिको निकासका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी चरित्र र राष्ट्रियताको रक्षा का लागि विभिन्न कम्युनिस्ट पार्टीबीच एकता भएको बताउनुभयो । उहाँले जनताको पिरमार्कालाई सम्बोधन गर्न र सबै किसिमको विकृति अन्त्य का लागि नयाँ सोच बोकेर पार्टी अघि बढेको स्पष्ट पार्नुभयो । नेता नेपालले पार्टीका राम्रा काममा गौरबबोध गर्ने र कमजोरीहरूलाई सुधार गर्ने संकल्प गर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । उहाँले पार्टीलाई गतिशील बनाउन र आउने चुनावबाट देश बनाउने पार्टीलाई ठूलो शक्ति बनाउने अभियानमा जुट्न पनि आग्रह गर्नुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल देश गम्भीर संकटमा गुज्रिरहेको बताउनुभयो । सन्देश सभालाई सम्बोधन गर्दै देशलाई निकास दिनका लागि कम्युनिस्ट पार्टी एकतामा जोडिएको बताउनुभयो । उहाँले माक्र्सवाद र लेलिनवादलाई नयाँ पार्टीको मूल सिद्धान्त रहेको बताउनुभयो ।
समाजवादी क्रान्ति र नेपाली विशेषताको समाजवाद निर्माणका लागि एकता गरिएको बताउनुभयो । सन्देशसभामा नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानुपर्ने बताउनुभयो उहाँले संविधान र राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानुपर्ने बताउनुभएको हो । कार्यक्रममा नेता भीम रावलले वर्तमान सरकारले दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह गर्नुभयो ।
चुनावका लागि बनेको सरकारले दीर्घकालीन असर गर्ने काम गरेको बताउँदै सरकारलाई दीर्घकालीन असर गर्ने काम नगर्न उहाँले आग्रह गर्नुभयो । ‘दीर्घकालीन असर गर्ने गरी जलविद्युत व्यापार सम्झौता भएको छ, अर्थ मन्त्रालयमा ठूलो चलखेल भएको छ,’ उहाँले भन्नुभयोे,’ सरकारलाई सचेत गराउन चाहान्छु ।
निर्वाचनका लागि बनेको सरकारले दीर्घकालीन असर गर्ने काम नगर्नू ।’ उहाँले देशको रक्षा गर्ने बेला सेनाको हेलिकप्टर चढेर भागेका केपी शर्मा ओलीले गुण्डुबाट अराजक अभिव्यक्ति दिइरहेको बताउनुभयो । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले कांग्रेस एमालेलाई भोट दिएका कारण कोशीमा पहिचानको पक्षमा परिणाम नआएको बताउनुभयो । नेता श्रेष्ठले पहिचानको संघर्ष लामो समयदेखि चलिरहे पनि परिणाम नआएको बताउनुभयो ।