महानगरमा पराजित पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

विराटनगर १५ मंसिर । गत बैशाखमा सम्पन्न विराटनगर एमाले महानगर कमिटीको उपाध्यक्षमा पराजित भए लगतै राम पोखरेल भनेका थिए,‘ पराजय राजनीतिक यात्राको अन्त्य होइन, शुरुवात हो ।’

महानगर उपाध्यक्षमा झिनो (९) मतान्तरले पराजित भएका उनले पराजयबाट आफ्नो राजनीतिक यात्रा शुरु भएको सामाजिक सञ्जाल मार्फत बताएका थिए ।

महानगर कमिटीको पदाधिकारीमा संस्थापन इतर समूह निर्वाचित हुँदा संस्थापन केपी ओली समूहबाट उपाध्यक्षमा उनी कम मतान्तरले पराजित भएका थिए । ओली समूहका अन्य पदाधिकारीको मन्तान्तर फराकिलो थियो । पोखरेल ओली निकट भएपनि इतर समूहसँग पनि उनको व्यक्तिगत सम्वन्ध राम्रो छ ।

महानगर कमिटीको उपाध्यक्षमा निर्वाचित भएको भए महानगर कमिटीबाहेक अन्यत्र ध्यान नदिने उनले बताएका थिए । उपाध्यक्षमा पराजित पछि पोखरेलले राष्ट्रिय महाधिवेशन प्रतिनिधिका रुपमा अघि बढ्ने तयारी शुरु गरेका थिए ।

आगामी मंसिर २७–२९ सम्म काठमाण्डौैमा हुने ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मोरङ ४ बाट यूवा क्लष्टर ( ४० वर्ष मुनी) बाट उनी सानदार मत सहित निर्वाचित भएका छन् । पोखरेलले ८६३ मत ल्याएर निर्वाचित भए । उनका निकटम प्रतिष्पर्धी नवराज नेपाल टुप्पीले ६२४ मत प्राप्त गरेका थिए ।

विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष समेत रहेका पोखरेलले यसअघि पार्टी वडा कमिटीको नेतृत्व गरेका थिए । वडा कमिटी अध्यक्ष भएका समयमा महानगर भित्र सवैभन्दा बढी पार्टीका रचनात्मक गतिविधि गर्न सफल भएका थिए ।

वडा कमिटीमा पार्टी चलायमान भएकै कारण ०७४ मा पराजित भएका एमालेलाई ०७९ मा आफ्नै नेतृत्वमा वडाध्यक्ष सहित सवै वडा सदस्यहरु जिताउन सफल भएका थिए ।

वडाध्यक्षमा निर्वाचित पछि उनी वडाका हरेक गतिविधिमा सक्रिय छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि पोखरेलले आफुले पाएको जिम्मेवारी विश्वासको कर्जा भएको बताएका छन् । उनले जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

क्षेत्र नं. ४ का युवाहरू, कार्यकर्ताहरू र आम पार्टी सदस्यहरुको भावना–आकांक्षा र सुझावलाई महाधिवेशनमा जिम्मेवारीका साथ प्रतिनिधित्व गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।