स्वास्थ्य सेवा प्रवाहमा मोरङको धनपालथान प्रथम

विराटनगर १० असोज । स्वास्थ्य सेवा प्रवाहमा मोरङको धनपालथान गाउँपालिका प्रथम भएको छ ।

एक महानगर सहित १७ वटा स्थानीय तह रहेको मोरङमा धनपालथान उत्कृष्ट भएको हो । गत आर्थिक वर्षमा पनि धनपाल नै प्रथम थियो । स्वास्थ्य सुचकांक तथा कार्य सम्पादन र मुल्यांकनका आधारमा धनपालथान गाउँपालिकाले प्रथम भएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

विराटनगरमा आयोजित २०८०–०८१ मा संचालित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरिय वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठिमा सो पालिकाले स्वास्थ्य क्षेत्रमा ९० प्रतिशत उत्साहजनक प्रगति हाशिल गरेको भन्दै सो पालिका प्रथम भएको घोषणा गरिएको थियो । प्रथम स्थान हासिल गर्न सफल सो पालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठलाई कदरपत्रका साथ दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा राधिका थपलिया र स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले उहालाई सम्मानगर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा थपलियाले १७ वटै पालिकालाई उछिनेर दोश्रो पटक पनि प्रथम स्थान हाशिल गर्नु समग्र गाउपालिकाको लागि गर्वको करा भएकाले आगामी दिनमा पनि यसरी नै सवै प्रकारको सेवा नागरिक समक्ष पुर्याउदै जान सुझाव दिनुभयो । स्वास्थ कार्यालयका मोरङका प्रमुख डा मेहताले धनपालथान गाउपालिकाले प्रदान गर्दै आएको सेवा प्रवाह उदाहरणीय भएकाले अन्य पालिकाहरुले पनि आफ्नो सेवा प्रवाह यसरीनै संचालन गर्दैै जानुपर्ने वताउनुभयो ।

जिल्ला समन्वय समित मोरङका प्रमुख अजम्वर राईले नागरिकले सहज सेवा पाउनुपर्नेमा जोड दिनुभयो । पालिकाले भौतिक पुर्वाधारको निर्माणसंगै शिक्षा, स्वास्थ्यमा समेत ध्यान दिएकाले पनि आफनो पालिका दोश्रो पटक पनि मोरङको १७ वटा पालिकामध्ये पहिलो हुन सफल भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख  सेठको भनाई छ ।