मोरङ ६ की रास्वपा सांसद आचार्यको चुनाव खर्च १२ लाख ४० हजार

विराटनगर २८ फागुन । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई ठूलो मतान्तरले पराजित गरेर चर्चामा आएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद रुविना आचार्यले आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएकी छन् ।

उनले बिहीबार पेस गरेको विवरण अनुसार निर्वाचन अभियानका क्रममा कुल १२ लाख ४० हजार ७ सय ६ रुपैयाँ खर्च भएको देखाइएको छ । निर्वाचन कार्यालयमा बुझाइएको विवरणमा प्रचारप्रसार, यातायात, स्वयंसेवक व्यवस्थापन, प्रचार सामग्री उत्पादन, डिजिटल प्रचार लगायतका विभिन्न शीर्षकमा खर्च भएको उल्लेख गरिएको छ । विवरण अनुसार चुनावी अभियानका क्रममा सवारी साधन भाडामा मात्रै १ लाख ४९ हजार ४ सय रुपैयाँ खर्च भएको देखाइएको छ । चुनावी गतिविधिमा संलग्न अभियान्ता, स्वयंसेवक तथा प्रतिनिधिहरूका लागि खाना, खाजा र चिया–पानीमा २ लाख ४७ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यस्तै, चुनावी अभियान सञ्चालनका लागि सचिवालय स्थापना र त्यहाँ आवश्यक चिया–नास्ताको व्यवस्था गर्न १२ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको देखाइएको छ । बुथ प्रतिनिधिहरूलाई प्रशिक्षण दिनुका साथै उनीहरूको व्यवस्थापनका लागि २ लाख रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ । प्रचारप्रसार सामग्री उत्पादन तथा प्रयोगका लागि २ लाख २५ हजार ७ सय ७६ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ ।

यस अन्तर्गत साउन्ड सिस्टम जडान गरेर सिटी रिक्सामार्फत गरिएको प्रचार गतिविधि पनि समावेश गरिएको छ । त्यस्तै, विद्युतीय माध्यमबाट गरिएको प्रचारप्रसार, फोटोकपी, भिडियोग्राफी लगायतका गतिविधिमा ३ लाख रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । निर्वाचन आयोगमा बुझाइएको खर्च विवरण आचार्यको निर्वाचन प्रतिनिधिका रूपमा प्रदीप उप्रेतीले पेस गरेका छन् । उप्रेती आचार्यका श्रीमान् पनि हुन् । निर्वाचन कानुन अनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि निर्धारित समयभित्र आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले यस पटकको निर्वाचनमा उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेकी थिइन् । उनले कुल ५५ हजार ५ सय १३ मत प्राप्त गर्दै जीत निकालेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १२ हजार ८ सय ५० मत प्राप्त गरेका थिए । त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार विनोदप्रसाद ढकालले ८ हजार ३ सय १७ मत प्राप्त गरेका थिए ।

लामो समयदेखि प्रभाव कायम राख्दै आएका कांग्रेस नेता शेखर कोइरालालाई ठूलो मतान्तरले पराजित गरेपछि रुविना आचार्य राष्ट्रिय राजनीतिमा समेत चर्चा र बहसको केन्द्रमा आएकी छन् । चुनावी परिणामसँगै उनले बुझाएको खर्च विवरणले पनि राजनीतिक वृत्तमा चासो सिर्जना गरेको छ । चुनावी अभियानमा खर्च हुने रकम र त्यसको पारदर्शिताका बारेमा सार्वजनिक रूपमा निरन्तर बहस हुँदै आएको छ ।