विपद् न्यूनिकरणका लागि पूर्व तयारी आवस्यक

विराटनगर, ७ असोज । सरकारले विपद् न्यूनिकरणका लागि पूर्व तयारी भन्दा बढी राहत र उद्धारमा खर्च गर्ने गरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

आइतबार विराटनगरमा आयोजना गरिएको विपद् जोखिम न्यूनिकरणका लागि स्थानीयकरण र सुशासन विषयक छलफल कार्यक्रमका सहभागिहरुले पूर्व तयारीमा एक डलर खर्च गर्दा १४ डलरको उपलब्धि हासिल हुने विज्ञहरुको सुझाव कार्यान्वयन नगरेको गुनासो गरेका छन् । उनिहरुले विपद् जोखिम न्यूनिकरणका लागि राहत र उद्धारमा भन्दा पूर्व तयारीमा बढी खर्च गर्न सरकारसंग आग्रह गरेका छन् ।

सो कार्यक्रमका सहभागिहरुले विपद्का बेला सबैभन्दा बढी भ्रष्टाचार हुने गरेकाले सामाजिक संघ संस्थाहरुले उत्थानशिल कार्यक्रम ल्याउनु पर्ने र विपद् जोखिम न्यूनिकरणका लागि पूर्व तयारीको योजना बनाउनुपर्ने धारणा राखे ।

गैर सरकारी संस्था महासंघ कोशी प्रदेश, डिपीनेट नेपाल र डिमानले आयोजना गरेको सो कार्यक्रममा विपद् न्यूनिकरणका लागि स्थानीयकरण गर्नुपर्ने र स्थानीय सरकारलाई बढी जिम्मेवार र क्रियाशिल बनाउनु पर्नेमा जोड दिइएको थियो ।

सो कार्यक्रममा कोशी प्रदेशका सांसदहरु, विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु र सरोकारवालाहरुको सहभागिता रहेको गैसस महासंघ कोशी प्रदेशका अध्यक्ष लखनलाल साहले जानकारी दिनुभयो ।