कोशी प्रदेशमा ५८२ जनामा डेङ्गु संक्रमण, सचेतनामुलक कार्यक्रम गर्न प्रदेश सरकारको आग्रह

विराटनगर ३० साउन । कोशी प्रदेशमा ५८२ जनामा डेङ्गु संक्रमण भएको छ । वैशाख देखि हालसम्म ५८२ जनामा संक्रमणम भएको र झापामा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साउन महिनामा मात्रै ३३४ जनामा डेङ्गु संक्रमण भएको छ ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले आज विराटनगरमा मोरङका स्थानीयतहका प्रमुख उपप्रमुख, सरोकारवाला लगायतको सहभागितामा डेङ्गु नियन्त्रण सम्वन्धीको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्रालयले सो संख्यामा संक्रमण भएको जनाएको हो ।

कोशी प्रदेशमा मोरङ जिल्लामा संक्रमण उच्च रहेकाले सचेतनामुलक कार्यक्रम गर्न प्रदेश सरकारले आग्रह गरेको छ । कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशका सवै स्थानीय तहहरुलाई जनचेतनामुलक कार्यक्रम गर्न आग्रह गर्नुभयो । प्रदेशवासीको स्वास्थ्यप्रति प्रदेश सरकार गंभीर रहेको बताउनुभयो । उहाँले डेङ्गु संक्रमण नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । डेङ्गु संक्रमण नियन्त्रणका लागि प्रदेश सरकार हातेमालो गर्न तयार रहेको मन्त्री अधिकारीको भनाई छ ।

मोरङमा पनि लेटाङ नगरपालिकामा मात्रै संक्रमितको संख्या हालसम्म ३१० रहेको उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो । ७ सय बढीको परीक्षण गर्दा बैशाख देखि हालसम्म ३१० जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो । उपप्रमुख निरौलाले खोज र नष्ट गर अभियान निरन्तर सञ्चालन गरिरहेको उहाँको भनाई छ । डेङ्गु संक्रमण नियन्त्रणका लागि सचेतना आवस्यक रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले डेङ्गु संक्रमण नियन्त्रणका लागि समन्वय गर्न आफुहरु तयार रहेको बताउनुभयो । कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले डेङ्गु संक्रमण नियन्त्रणका लागि अभियानहरु सञ्चालन गरिरहेको बताएका थिए ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले जनता लक्षित कार्यक्रममा तीनै तहको सरकारवीच समन्वय आवस्यक रहेकोमा जोड दिनुभयो । उहाँले प्रदेश र स्थानीय सरकारवीच समन्वयका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख, बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहताले डेङ्गुको कुनै औषधि नभएको बताउनुभयो । डेङ्गुको दुखाई तथा लक्षणहरुको व्यवस्थापन गर्ने गरिन्छ र यसका लागि खासगरि पारासिटामोल दिईने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ तर आईब्रुफेन र एस्पिरिन जस्ता औषधिहरु प्रयोग गर्नु हुँदैन ।’ डेङ्गु भएका विरामीहरुको व्यवस्थापन डेङ्गुको रोगको अवस्थामा भर पर्ने उहाँको भनाई छ ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक दिलिप यादवले महानगरले वडास्तरमा खोज र नष्ट गर अभियान तथा अभिमुखीकरण सञ्चालन गरिएको बताउनुभयो । उहाँले संक्रमित भएकाहरुको घरमै पुगेर महानगरपालिकाले जनचेतना दिने काम गरिरहेको बताउनुभयो ।

कोशी प्रदेशमा साउन १ देखि २९ गते सम्ममा मात्रै ३३४ जनामा डेङ्गु संक्रमण भएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार मोरङमा मात्रै एक महिनामा १९९ जनामा संक्रमण भएको छ । झापामा ३३, धनकुटामा ३२, संखुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा ३ र तेहृथुममा २ जनामा संक्रमण भएको बस्नेतले जानकारी दिनुभयो ।