विराटनगर १० मंसिर । चौधरी फाउण्डेशनले सुनसरीको गढी गाउँपालिका–७ स्थिते सत्यमझोरा स्वास्थ्य चौकीको स्तरउन्नती तथा आधुनिक प्रसूति केन्द्रका लागी सामग्रीहरु हस्तान्तरण गरी उद्घाटन गरेको छ ।
फाउन्डेसनको सहयोगले गढी र आसपासका क्षेत्रका सेवाग्राहीलाई सुरक्षित, सहज र गुणस्तरीय मातृ तथा नवजात स्वास्थ्य सेवामा पहुँच प्रवर्धन गर्ने चौधरी फाउण्डेशनले जनाएको छ ।
चौधरी फाउन्डेशनले स्वास्थ्य चौकीलाई आवश्यक सामग्रीहरु उपलब्ध गराई प्रसूति केन्द्रलाई आधुनिक, उपयोगी र मापदण्डअनुसारको सुविधासहित सक्षम बनाउन सहयोग गरेको छ ।
सोमबारको हस्तान्तरण तथा उद्घाटन समारोहमा चौधरी समूहका प्रबन्ध निर्देशक नर्वाण चौधरी, गढी गाउँपालिकाका अध्यक्ष, स्थानीय प्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
चौधरी समूहका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरीले यो केवल एउटा परियोजना मात्र नभएर प्रत्येक आमाले सुरक्षित वातावरणमा सुरक्षित प्रसूति गर्ने अवसर पाउन र प्रत्येक नवजात शिशुले सम्मानजनक तथा स्वस्थ जीवनको सुरुवात पाउन गरिएको प्रतिबद्धता भएको बताउनुभयो ।
सुनसरीमा भएको यो पहल चौधरी फाउन्डेशनद्वारा सातै प्रदेशमा सञ्चालन भइरहेका प्रसूति केन्द्र सुदृढीकरण कार्यक्रमको एक महत्त्वपूर्ण हिस्सा रहेको बताईएको छ ।
चौधरी फाउन्डेशनले नेपालका आमाहरू र शिशुहरूका लागि सुरक्षित मातृत्व, गुणस्तरीय स्वास्थ्य सेवा, महिला सशक्तिकरण तथा राष्ट्रिय मातृ–शिशु स्वास्थ्य लक्ष्यप्राप्तिमा निरन्तर योगदान दिँदै आएको छ र भविष्यमा पनि यो अभियानलाई अझ सबल बनाउँदै लैजाने उद्दृेश्य लिएको जनाईएको छ ।
