विराटनगर, २२ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले विराटनगर महानगरपालिकाका १९ वटै वडामा उम्मेद्वार खडा गरेको छ । जसमा राजनीतिक देखि सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरु समेत एमालेको छनौटमा परेका छन् । जसको विगत र वर्तमानको राजनीतिक सक्रियता तथा शैक्षिक योग्यता कस्तो भनेर यस समाचारमा चर्चा गरिएको छ ।
काजी बस्नेत (वडा नं १) : विद्यालय तहबाटै राजनीतिक यात्रा सुरु गरेका काजीबहादुर बस्नेतको जन्म २०१८ सालमा भोजपुरको नेपाले डाडामा भएको थियो । बीए सम्मको अध्ययन पुरा गरेका बस्नेतले २०३५÷३६ सालको विद्यार्थी आन्दोलनसँगै तत्कालिन माले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूबाट आफ्नो राजनीतिक यत्रा प्रारम्भ गरेका हुन् । मोरङको बाहुनी स्थित जनता मावि बाहुनीमा अध्ययन गर्दा नै अनेरास्ववियूको प्रारम्भिक कमिटी मार्फत राजनीतिको सुरु गरेका बस्नेत अनेरास्ववियूको पहिलो मोरङ जिल्ला कमिटीको सदस्य, कृषि क्याम्पस लमजुङको स्ववियू उपसभापति हुँदै २०३८ साल देखि पार्टीको भूमिगत कार्यकर्ताको रुपमा सक्रिय भए ।
२०४० साल तिर विराटनगरमा तत्कालिन विद्यार्थी नेताहरु इश्वरी लामिछाने, नरेश पोखरेल, काशी दाहालको सम्पर्कमा रहेर उनी पार्टी सङ्गठनको काममा सक्रिय रहेका थिए । २०४६ साल देखि विराटनगर नगरपालिकामा जागिरे जीवन सुरु गरेपछि कर्मचारी सङ्गठनमा सक्रिय भएका बस्नेत एमाले निकट कर्मचारी सङ्घको कोशी अञ्चल इन्चार्ज केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पुरा गरे । जागिर र राजनीतिलाई सँगै अघि बढाएका बस्नेतले २०७४ सालमा जागिरबाट राजीनामा दिएर विराटनगर महानगरपालिका वडा नं १ मा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेद्वार बने तर झिनो मतान्तरले पराजित भए । अहिले पुनः उनैलाई एमालेले दोस्रो पटक सोही वडाको वडाध्यक्ष पदको उम्मेद्वार बनाएको छ ।
कुमार पोखरेल (वडा नं २ ) : २०४६ सालको राजनीतिक परिवर्तनसँगै एमालेको राजनीतिमा सक्रिय भएका कुमार पोखरेलको जन्म २०२९ सालमा विराटनगरमा भएको थियो । आइ कम सम्मको अध्ययन पुरा गरेका पोखरेलले प्रजातान्त्रिक राष्ट्रिय यूवा सङ्घबाट राजनीति प्रारम्भ गरेका थिए । उनले युवा सङ्घको विभिन्न कमिटीहरुमा काम गर्दै विराटनगर उपमहानगर कमिटीको अध्यक्षको जिम्मेवारी पुरा गरेका छन् ।
भूगोल तर्फ पार्टीको वडा कमिटीको सदस्य हुँदै वडा कमिटीको दुई कार्यकाल सचिव र अध्यक्ष हुँदै हाल एमालेको विराटनगर महानगर कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा रहेका छन् । उनले विराटनगर महानगरपालिका वडा नं २ को एक कार्यकाल वडाध्यक्षको जिम्मेवारी समेत पुरा गरेका छन् । निर्माण व्यवसायी समेत रहेका पोखरेललाई पुनः दोस्रो कार्यकालका लागि एमालेले सोही वडाको वडाध्यक्षको उम्मेद्वार बनाएको छ ।
बासु बस्नेत (वडा न ३) : विराटनगरको राधाकृष्ण माविमा पढ्दा नै अनेरास्ववियूमा सक्रिय भएका बासुबहादुर बस्नेतको जन्म २०२० सालमा विराटनगरमा भएको हो । २०३६ सालमा स्कुले जीवनबाटै बाम राजनीतिमा सक्रिय बस्नेतले महेन्द्र मोरङ क्याम्पसबाट अर्थशास्त्र र राजनीतिक शास्त्रमा स्नातक तहसम्मको अध्ययन पुरा गरेका छन् ।
विद्यार्थी जीवन पछि गाउँघरमा पनि बाम राजनीतिमा सक्रिय हुँदै आएका बस्नेतले नेकपा एमालेको तत्कालिन विराटनगर – ४ को वडा सचिव, दुई कार्यकाल अध्यक्ष, इलाका कमिटीको सचिव, इलाका कमिटीको अध्यक्ष र हाल महानगर कमिटीको सचिवालय सदस्य तथा वडा नं ३ को इन्चार्जको भूमिकामा क्रियासिल छन् ।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा एमालेको तर्फबाट विराटनगर उपमहानगरपाकिला वडा नं ४ को वडा सदस्यमा निर्वाचित बस्नेत विभिन्न सामाजिक सङ्घ संस्थाहरुमा समेत क्रियासिल छन् । स्थानीय परोपकार अभियान समुहको, मानगढ खानेपानी आयोजना, मदननगर आधारभुत विद्यालय, बुद्धोदय सहकारी जस्ता विभिन्न सङ्घ संस्थाहरुमा समेत उनी संस्थापक सदस्यको रुपमा सक्रिय रहेका छन् ।
राजनीतिक र सामाजिक व्यक्तित्वको छवि बनाउन सफल बस्नेतलाई यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले विराटनगर महानगरपालिका वडा नं ३ को वडाध्यक्षको उम्मेद्वार बनाएको छ ।
जितन थापा (वडा नं ४) : मोरङको इटहरामा २०३२ सालमा जन्मिएका जितन थापा १३ वर्षको कलिलो उमेरमै अनेरास्ववियु मार्फत राजनीति प्राम्भ गरेका हुन् । बामपन्थि गतिविधिको केन्द्र रुपमा रहेको इटहरामा उहाँको घरका दिदी, दाजु र आमाहरु पनि तत्कालिन मालेको गतिविधिमा सक्रिय थिए । बीए सम्मको अध्ययन पुरा गरेका थापालाई घरायसी परिवेशले समेत कलिलै उमेरमा राजनीति तर्फ डोर्यायो । स्कुल पछि धरानको हात्तिसार क्याम्पसमा आइ एससी पढ्दा उनी सोही क्याम्पसमा अनेरास्ववियूको प्राक सदस्य र २०५१ सालमा भएको स्ववियू निर्वाचनमा सोही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य सम्मको जिम्मेवारी पुरा गरेका छन् ।
केही समय स्वास्थ्य क्षेत्रमा काम गरेका थापा पछि जागिर छोडेर वैदेशिक रोजगारीका लागि दक्षिण कोरिए पुगे । कोरियामा पनि नेपाल कोरिया समाजमा आवद्ध भएर काम गरेको अनुभव उनीसँग छ । वैदेशिक रोजगारीबाट फर्किएपछि थापा राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय भए । यस अवधिमा उनले लायन्स कञ्चनबारीको अध्यक्ष, लिबर्टी नेपालको सदस्य, राष्ट्र सेवक सहकारीको सदस्य, शिवालय बचत तथा ऋण सहकारीको सस्थापनक सदस्य लगायत दर्जनौ सङ्घ सस्थाको जिम्मेवारी पुरा गरेका छन् ।
पार्टी राजनीति तर्फ थापा वडा कमिटी सचिव, उपाध्यक्ष हुँदै हाल अध्यक्षको जिम्मेवारीमा छन् । व्यवसाय तर्फ पनि क्रियासिल थापा पाथीभारा हाउजिङको अध्यक्ष, सीताराम फार्मेसीको सञ्चालक समते हुन् ।
मीनकुमार आचार्य (वडा नं ५) : विद्यार्थी जीवनबाट राजनीतिमा जोडिएका मीनकुमार आचार्यको जन्म २०२९ सालमा भएको हो । स्नातक तह सम्मको अध्ययन पुरा गरेका आचार्यले २०५२ सालमा महेन्द्र मोरङ क्याम्पसको मानविकी सङ्काय कमिटीमा आवद्ध हुँदै राजनीतिमा जोडिएका हुन् । उनले अनेरास्ववियूको विराटनगर नगर कमिटीको सचिव, अध्यक्ष हुँदै मोरङ जिल्ला कमिटीको सचिव र कोसी अञ्चल कमिटीको सदस्य सम्मको जिम्मेवारी पुरा गरेका छन् ।
विद्यार्थी राजनीति पछि पार्टी राजनीतिमा सक्रिय भएका आचार्यले विराटनगर महानगर वडा नं ५ को वडा सचिव हुँदै इलाका कमिटीको सदस्य, उपसचिव, क्षेत्रीय कमिटीको सदस्य, जिल्ला कमिटीको तीन कार्यकाल सदस्य र हाल मोरङ जिल्ला कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा रहेका छन् ।
एक कार्यकाल विराटनगर महानगरपालिका वडा नं ५ को वडाध्यक्षको जिम्मेवारी पुरा गरेका आचार्यलाई पुनः दोस्रो कार्यकालका लागि एमालेले सोही वडाको वडाध्यक्षको उम्मेद्वार बनाएको छ ।
अनिस आलम ( वडा नं ६) : विराटनगरको सरोचिया आसपासमा सामाजिक र राजनीति व्यक्तित्वको परिचय बनाएका अनिस आलमको जन्म २०३७ सालमा भएको हो । कक्षा १२ सम्मको अध्ययन पुरा गरेपछि व्यवसायमा जोडिएका अनिसले व्यवसायसँगै राजनीति र सामाजिक कार्यलाई पनि अघि बढाए । २०५२ साल देखि नै नेवि संघको राजनीतमा सक्रि रहेका अनिसले २०६२÷०६३ मधेश आन्दोलनका बेला अझ सकारात्मक भूमिका निर्वाह गरे । विराटनगरका सरोचिया क्षेत्र पहाडे विरोधी आन्दोलनले उग्ररुप लिइरहेका बेला उनले भने त्यसालाई मथ्थर पार्दै सामाजिक सद्भाव कायम गरेर अघि बढ्नुपर्ने अभियान चलाए ।
नेपाली काँग्रेसका राजनीतिमा सक्रिय रहँदै आएका अनिसलाई उक्त पार्टीले टिकट नदिएपछि २०७४ सालको निर्वाचनमा विराटनगर महानगर वडा नं ६ बाट वडाध्यक्षको स्वतन्त्र उम्मेद्वारको रुपमा खडा भए । तर उनले सफलता प्राप्त गर्न सकेनन् । त्यसपछि एमाले प्रवेश गरेका अनिस वडा कमिटीको सदस्य हुँदै हाल विराटनगर महानगर कमिटीको सचिवालय सदस्य र वडा नं ६ इन्चार्जको जिम्मेवारीमा कार्यरत छन् ।
पार्टी कमिटी बाहेक एमालेको जनवर्गिय सङगठन नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको मोरङ सचिव, महानगरको इन्चार्ज हुन् । स्थानीय युवाहरु बीच निकै लोकप्रिय अनिस अहिले एमालेको तर्फबाट विराटनगर महानगरपालिका वडा नं ६ को वडाध्यक्षको उम्मेद्वार बनेका छन ।
दामोदर तिवारी ( वडा नं ७ ) : वि स २०१२ सालमा लमजुङमा जन्मिएका दामोदर तिवारी २०४८ सालपछि एमालेको स्थानीय राजनीतिमा सक्रिय भएका हुन् । भारतको वनारसबाट राजनीति शास्त्र र अर्थशास्त्रमा स्नातक तहसम्मको अध्ययन पुरा गरेका तिवारीसँग नेकपा एमाले विराटनगर उपमहानगरपालिका वडा नं १० का वडा कमिटीको उपसचिव, इलाका कमिटीको सदस्य, क्षेत्रीय कमिटीको सचिव हुँदै हाल विराटनगर महानगरकमिटीको सचिवालय सदस्य रहेका छन् ।
खुल्ला राजनीतिमा आउनु भन्दा अगाडि २०४३ देखि तत्कालिन मालेको सम्पर्कमा रहेर उनले २०४२ सालको राष्ट्रिय पञ्चायत ०४३ सालको नगर पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेद्वारको रुपमा खडा भएका बमबहादुर खडका र धु्रव नारायण श्रेष्ठलाई जिताउन सक्रिय भूमिका निर्वाह गरेका थिए । यसरी लामो समय देखि पार्टी सगठनमा सक्रिय तिवारी आगमी बैशाख ३० गतेको निर्वाचनका लागि एमाका तर्फबाट विराटनगर महानरपालिका वडा नं ७ को वडाध्यक्षको उम्मेद्वार बनेका छन् ।
राम पोखरेल (वडा नं ८) : विराटनगरको एमाले राजनीतिमा सक्रिय युवा हुन् राम पोखरेल । २०४५ सालमा विराटनगरमै जन्मिएका पोखरेलले महेन्द्र मोरङ क्याम्पसबाट बीबीएस सम्मको अध्ययन पुरा गरेका छन् ।
२०६२-०६३ सालको जनआन्दोलनसँगै राजनीतिमा उदाएका पोखरेलले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्राकको सदस्य,कोषाध्यक्ष हुँदै उपाध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् ।
त्यस्तै युवा सङ्घको वडा कमिटी सदस्य हुँदै क्षेत्रीय कमिटी सदस्य,सचिव, उपाध्यक्ष र कार्यबहाक अध्यक्ष हुँदै हाल जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा क्रियासिल छन् ।
त्यस्तै पार्टी सङगठन तर्फ वडा कमिटीका सदस्य, सचिव हुँदै हाल महानगर वडा नं ८ को वडाकमिटीको अध्यक्षको जिम्मेवारीमा रहेका छन् । राजनीतिक रुपमा सक्रिय यिनै युवालाई अहिले एमालेले विराटनगर महानगर पालिका वडा नं ८ को वडाध्यक्ष पदको उम्मेद्वार बनाएको छ ।
श्रीप्रकाश तोत्ला (वडा नं ९) : विराटनगरको मारवाडी समुदायबाट एमालेको राजनीतिमा सक्रिय व्यक्ति हुन्–श्री प्रकाश तोत्ला । वि स २०२७ सालमा विराटनगरमै जन्मिएका तोत्लाले प्रविणता प्रमाण पत्र तहसम्मको अध्ययन पुरा गरेकाछन् । स्थानीय महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गर्दा अनेरास्ववियुको विद्यार्थीहरुको सङ्गतले एमाले तिर आकर्षित भएका तोतलाको राजनीतिक सक्रियता भने युवा सङ्घबाट सुरु भएको हो । उनले युवा सङ्घको वडा र महानगर कमिटी हुँदै प्रदेश कमिटीसम्मको जिम्मेवारी पुरा गरेका छन् ।
हाल एमालेको महानगर कमिटीको सदस्य रहेका तोतला राजनीतिक सँगै व्यापार व्यवसायमा पनि सक्रिय छन् । विगत १० वर्ष देखि एड एजेन्सी सञ्चालन गर्दै आएका यिनै युवालाई एमालेले यस पटक विराटनगर महानगरपालिको वडा नं ९ को वडाध्यक्षको उम्मेद्वार बनाएको छ ।
अर्जुन गिरी (वडा नं १०) : तत्कालिन मालेको आधार क्षेत्रको रुपमा रहेको विराटनगरको तीनटोलीय निवासी अर्जुन गिरी सांस्कृतिक अभियानसँगै पार्टी राजनीतिमा जोडिएका हुन् । २०३० सालमा जन्मिएका गिरीले स्थानीय महेन्द्र मोरङ क्याम्पसबाट आइएस्सीको अध्ययन गरेका छन् ।
पञ्चायतकालमा तीनटोलीय अनेरास्ववियूका विद्यार्थीहरु लागि सुरक्षित क्षेत्र मानिन्थ्यो । विराटनगर बाहिरबाट आउने अनेरास्ववियूका अधिकांस समर्थकहरु सोही क्षेत्रमा डेरा गरेर बस्थे । यही क्रममा जनसंस्कृति मञ्चका अभियान्ताहरु तथा जनकलाकारहरु खेम नेपाली, सावित्रा दाहाल लगायतका व्यक्तिहरुसँग गिरीको सम्पर्क भयो । त्यही सम्पर्क अहिले गिरीको मजबुत राजनीतिक जग बन्न पुग्यो ।
खास गरेर जनकलाकार जेबी टुहुरेको राष्ट्रिय जनसांस्कृतिक मञ्चमा उनका दिदी यशोधा र बहिनी गँगा गिरी पूर्णकालिन रुपमा सक्रिय रहेकाले आफू पनि त्यहीबाट बढी प्रभावित भएको उनी बताउँछन् । जनबादी गित सुन्दासुन्दै राजनीतिमा सक्रिय भएको बताउने गिरी २०४६ सालको पञ्चाय विरोधी आन्दोलनमा समेत सक्रिय थिए ।
पछि जनआन्दोलन सफल भएपछि गिरी पनि एमालेको यूवा सङ्गठन प्ररायुसङ्घमा सक्रिय भए । उक्त सङ्गठनको वडा कमिटी हुँदै नगर कमिटीको अध्यक्ष र क्षेत्रीय कमिटीको सचिव सम्म भएर काम गरेका छन् । हाल एमाले पार्टीको विराटनगर महानगर कमिटीको वडा नं १० को तेस्रो कार्यकालका लागि वडाकमिटी अध्यक्षको जिम्मेवारीमा रहेका गिरी सोही वडाान एमालेको तर्फबाट वडाध्यक्ष पदको उम्मेद्वार समेत रहेका छन् ।
तिर्थेन्द्र न्यौपाने (वडा नं ११) : एक कार्यकाल विराटनगर महानगरपालिका वडा नं ११ को वडाध्यक्षको कार्यकाल पुरा गरेका तिर्थेन्द्र न्यौपाने २०३७ साल देखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए । विद्यार्थी राजनीतिसँगै ४४÷४५ देखि उहाँको घर तत्कालिन अवस्थामा भूमिगत राजनीति गर्दै आएको माले पार्टीको सेल्टर थियो । हाल एमालेका नेता लालबाबु पण्डित मार्फत न्यौपाने पार्टीको सम्पर्कमा पुगेका थिए । त्यो बेला उनको घरमा मदन भण्डारी, इश्वरी लामिछाने, सुरेन्द्र पाण्डे, गुरु बराल लगायतका नेताहरु आउने गर्दथे । नियमित पार्टीको सम्पर्कमा रहेका कारण पार्टीका सबै खाले गतिविधिमा पनि उनको सक्रिय सहभागिता हुँदै आयो ।
२०४५ साल पछि तत्कालिन मालेको वडा नगर हुँदै हाल एमालेको जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा छन् । कृषि क्षेत्रलाई नै प्रमुख पेशा बनाउँदै आएका न्यौपानेको मुख्य पेशा उखुखेती हो । राजनीतिका अलवा सामाजिक क्षेत्रमा पनि सक्रि न्यौपाने ज्येष्ठ नागरिक मञ्च, वडा भित्रका विभिन्न विद्यालयहरु, विभिन्न सामाजिक सङ्घ सस्थाहरुमा उनको सहभागिता रहँदै आएको छ ।
महानगरकै सबै भन्दा उत्कृष्ठ वडाध्यक्ष बन्न सफल न्यौपानेलाई पुनः एमालेले दोस्रो कार्यकालका लागि सोही पदमा उम्मेद्वार बनाएको छ ।
भोला बराल (वडा नं १२) : कुनै बेला उत्तर पश्चिम मोरङका गाउँहरु सुन्दरपुर, दुलारी, केरावारी, इन्द्रपुर लगायत गाउँहरुमा जनाबादी गित गाउँदै हिड्ने केही व्यक्तिहरु मध्ये एक हुन् –भोला बराल । २०२० सलामा ताप्लेजुङको खेदेलिममा जन्मिएका बरालले एसएलसी सम्मको अध्ययन पुरा गरेका छन् । सानै उमेरमा बुबाआमासँगै बसाँइसराई गरी मोरङको सुन्दरपुर झरेका बराल २०३६ साल देखि नै सुन्दरपुर सांस्कृतिक समुह मार्फत राजनीतिमा सक्रिय भए । दाजु गुरु बराल बामपन्थि राजनीतिमा सक्रिय भएकाले उनलाई पनि त्यसको प्रभाव पर्यो ।
सांस्कृतिक समुह मार्फत गाउँ घरमा राजनीतिक जागरणसँगै पार्टी अन्य गतिविधिहरु पनि सञ्चालन गरिएको बराल बताउँछन् । पछि सुन्दरपुरबाट विराटनगर आएपछि पनि एमालेको विभिन्न सांगठानिक जिम्मेवारीहरुमा उनी सक्रिय भए । विगत २४ वर्ष देखि हालको विराटनगर महानगरपालिका वडा नं १२ मा एमालेको वडा कमिटीको जिम्मेवारीमा निरन्तररुपमा सक्रिय छन ।
हाल एमाले महानगर कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा रहेका बरालको यही सक्रियताको मुल्याङ्कन गर्दै बराललाई गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले वडाअध्यक्ष पदको टिकट दिएको थियो तर थोरै मतान्तरले पराजित भएका बराललाई पुनः सोही पदमा एमालेले उम्मेद्वार बनाएको छ ।
किशोर पोखरेल (वडा नं १३) : २०१५ सालमा सप्तरीको त्रिलोकमा जन्मिएका किरण पोखरेल हाल विराटनगरको राजनीतिक र सामाजिक क्षेत्रमा क्रियासिल छन् । एस एल सी सम्मको अध्ययन पुरा गरेका पोखरेल पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय थिए । उनी २०३९ सालमा सम्पन्न विराटनगर नगर पञ्चायतको निर्वाचनमा वाड नं १७ बाट वडासदस्यमा निर्वाचित भएका थिए ।
पञ्चायतबाट आफ्नो राजनीतिक सक्रियता सुरु गरेका पोखरेल २०५८ साल देखि एमालेमा प्रवेश गरे । एमाले प्रवेश सँगै वडा कमिटीको अध्यक्ष, नगर संयन्त्रको उपाध्यक्ष जस्ता महत्वपूर्ण जिम्मेवारी पुरा गर्दै २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट विराटनगर महानगरपालिका वडा नं १३ को वडाध्यक्ष पदको टिकट पाए तर पार्टी भित्रको आन्तरिक समस्याका कारण थोरै मतान्तरले पराजित पोखरेललाई पुनः एमालेले आगमी बैशाख ३० गते हुने निर्वाचनका लागि सो पदको उम्मेद्वार बनाएको छ ।
मैथिली, भोजपुरी लगायतका तराई मुलमा बोलिने अधिकाँस भाषा स्पष्ट बोल्न सक्ने भएकाले पनि पोखरेल मधेशी समुदायका बीचमा समेत निकै लोकप्रिय मानिन्छन् ।
सूर्यनारायण महतो (वडा नं १४) : विगत ३० वर्ष देखि विराटनगरको जतुवालाई कार्य क्षेत्र बनाएर एमालेको गतिविधिमा निरन्तर सक्रिय व्यक्तिको नाम हो– सूर्य नारायण महतो ।
प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घबाट राजनीति सुरु गरेका महतो उक्त सङ्घको क्षेत्रीय कमिटीको उपाध्यक्ष,जिल्ला कमिटीको निर्वाचित सदस्य सदस्य सम्मको जिम्मेवारी पुरा गरका छन् ।
त्यस्तै पार्टीमा पनि वडा कमिटीको विभिन्न पदीय जिम्मेवारी पुरा गर्दै हाल महानगर कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा छन् । पार्टीका भातृ सङ्गठनको रुपमा रहेको अखिल नेपाल पिछडा वर्ग सङ्घको मोरङ जिल्ला सचिव, नुनिया समाजको केन्द्रीय सचिव लगायतको जिम्मेवारीमा पनि उनको सक्रियता रहेको छ । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा विराटनगर उपमहानगरपाकिाल वडा नं १८ को वडा सदस्य निर्वाचित महतोको सक्रियता राजनीतिक बहेक सामाजिक क्षेत्रमा पनि रहेको छ । कोराना भाइरसको महामारीको समयमा विभिन्न सङ्घ संस्था मार्फत गाउँमै कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरी दुई हजार भन्दा बढी स्थानीय व्यक्तिहरुलाई खोप लगाउन सहयोग पुर्याएका छन् । गाउँमै आखा शिविरको सञ्चालन गरी निःशुल्क उपचारको व्यवस्था गर्ने, स्थनीयलाई स्वास्थ्य बिमा कार्यक्रममा जोड्न उत्प्रेरण दिने, विभिन्न क्याम्पसहरुमा समन्वय गरी स्थानीय विद्यार्थीहरुलाई निःशुल्क पठनपाठनका लागि वातावरण बनाउने जस्ता काम पनि उनको सक्रियतामा भएका छन् । अहिले उनी एमालेको तर्फबाट विराटनगर महानगरपालिका वडा नं १४ मा वडाध्यक्षका उम्मेद्वार हुन् ।
धर्मानन्द सञ्जेल (वडा नं १५) : विराटनगर क्षेत्रको मजदुर आन्दोलनमा लामो समय देखि सक्रिय व्यक्ति धर्मानन्द सञ्जेलको जन्म २०१५ सालमा भोजपुरको चरम्बीमा भएको हो । साधारण लेखपढ गर्न सक्ने सञ्जेल विराटनगर जुटमिलको जागिरसँगै मजदुर आन्दोलनमा सक्रिय भए । नेपाल स्वतन्त्र मजदुर युनियन मार्फत २०३६ साल देखि मजदुर आन्दोलनमा सक्रिय रहेका सञ्जेल विराटनगर जुट मिलमा भएका पटक पटकका भोक हड्ताल तथा विभिन्न औद्योगिक क्षेत्रमा हुने आन्दोलनहरुमा सक्रिय रहँदै आएका छन् ।
०४६ सालको जनआन्दोलनमा दुई पटक पक्राउ परेका सञ्जेल जुट गार्मेन्ट सेक्टर मजदुर युनियनको दुई कार्यकाल केन्द्रीय अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् । हाल उनी सोही सङ्गठनको प्रतिनिधि परिषद प्रमुख, जिफन्टको प्रदेश १ को सचिवालय सदस्य, एमालेको मोरङ जिल्ला कमिटीको चार कार्यकाल देखि सदस्य र क्षेत्र नं ५ को इन्चार्जको जिम्मेवारीमा रहेका छन् । आगामी बैशाख ३० गते हुने निर्वाचनमा उनलाई एमालेले विराटनगर महानगरपालिकाको वाड नं १५ को वडाध्यक्षको उम्मेद्वार बनाएको छ ।
कुमार महर्जन ( वडा नं १६) : फुटबलका राष्ट्रिय खेलाडी कुमार महर्जनको जन्म २०२४ सालमा विराटनगरको मिल्सएरियामा भएको हो । एस एल सी सम्मको अध्ययन पुरा गरेका महर्जन लामो समयसमम नेपाल प्रहरीको महेन्द्र पुलिस क्लबमा आबद्ध भएर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा सहभागि भएका छन् । उनले नेपालको तर्फबाट थाइलेण्ड, भारत लगायतका विभिन्न मुलुकहरुमा पुगेर अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भएका छन् ।
सानै देखि फुटबलमा रुची राख्ने महर्जन फुटबल खेल्दा खेल्दै २०४५ सालमा महेन्द्र पुलिस क्लबमा आबद्ध भएका थिए । नेपाल प्रहरीमा प्रहरी नायब निरीक्षक सम्मको पदमा पुगेर सेवा निवृत भएका महर्जन २०७३ साल देखि एमालेको स्थानीय राजनीतिमा सक्रिय छन् । आफू जागिरमा रहेपनि घर परिवारको समर्थन सँधै एमाले प्रति रहेकाले आफू पनि सेवा निवृत पछि सोही पार्टीमा आवद्ध भएर सक्रिय भएको उनी बताउँछन् । हाल एमालेको विराटनगर महानगर कमिटीको वडा नं १६ को वडा कमिटीको अध्यक्ष रहेका महर्जन बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सोही पाटीबाट वडाध्यक्ष पदको उम्मेद्वार समेत रहेका छन् ।
हमिद अजाद (वडा नं १७) : दक्षिण विराटनगरको मुस्लिम समुदाय बीच निकै लोकप्रिय युवा हमिद अजादको जन्म २०५० सालमा विराटनगरमै भएको हो । उनका बुबा महमद मुस्लिम मिया राप्रपाको राजनीतिमा सक्रिय रहेकाले सुरुमा उनी पनि सोही पार्टीमा थिए । तर उक्त पार्टीको भविश्य नदेखेपछि २०७४ सालमा एमाले प्रवेश गरे । एमाले प्रवेश सँगै हमिजले एमालेमा वडा कमिटीको जिम्मेवारी पाए । एमाले र माओबादी एकीकरण हुँदा पनि उनी सोही वडा कमिटीको सचिव थिए । एमाले निकट मुस्लिम सङ्गठन नेपाल मुस्लिम इत्तेहादकोका महानगर कमिटीको अध्यक्ष समेत रहेका हमिज राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि क्रियासिल छन् । कक्षा १२ सम्मको अध्ययन पुरा गरेका हमिद युथ युनिटी अध्ययन नेपाल नामको संस्था स्थापना गरी सोही सङ्गठन मार्फत सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएका छन् । उक्त संस्थाले बाढी, पहिरो जस्ता दैविक प्रकोपबाट पीडित व्यक्तिहरुका लागि सहयोग गर्दै आएको छ । उनको राजनीति र सामाजिक क्षेत्रका सक्रियताको मुल्याङ्कन गर्दै उनलाई एमालले विराटनगर महानगरपालिका वडा नं १७ को वडाध्यक्ष पदको उम्मेद्वार बनाएको छ ।
भुवनेश्वर यादब ( वडा नं १८) : स्थानीय गाउँमा भूपेनको नामले परिचित भूवनेश्वर यादब सावितको बुधनगर गाविसमा विगत २० वर्ष देखि राजनीतिक कार्यकर्ताको रुपमा सक्रिय रहँदै आएका छन् । एस एल सी सम्मको अध्ययन पुरा गरेका भूवनेश्वर २०५९ साल देखि नै एमालेमा सक्रिय थिए, तर शान्तिप्रक्रिया पछि तत्कालिन माओबादी पार्टी खुल्ला राजनीतिमा आएपछि उनी पनि माओबादीको स्थानीय राजनीतिमा सक्रिय भए । माओबादीमा सक्रिय रहँदा उनले विराटनगर महानगर कमिटीको सचिवालय सदस्य, वडा कमिटीको इन्चार्ज प्रदेशको चुनावी कमाण्डर लगायतका जिम्मेवारीहरु पुरा गरिसकेका छन् ।
गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओबादीको तर्फबाट विराटनगर महानगरपालिका वडा नं १८ मा वडा अध्यक्ष पदका उम्मेद्वार बनेका भूवन ५३ मतको अन्तरले नेपाली काँग्रेसँग पराजित भएका थिए । यस पटक भने उनी सोही पदमा एमालेको तर्फबाट उम्मेद्वार बनेका छन् ।
श्याम घिमिरे (वडा नं १९) : विद्यार्थी जिवनमा राजनीतिक सङ्गतमा आएपनि पार्टी राजनीतिमा अलिक पछि जोडिएका व्यक्ति हुन्– श्याम घिमिरे । २०२४ सालमा खोटाङको डुम्रेधारामा जन्मिएका घिमिरेले विराटनगर स्थित आदर्श रात्रि क्याम्पसबाट आइ ए सम्मको अध्ययन पुरा गरेका छन् । स्कुले विद्यार्थी हुदा २०४० साल तिर राजनीतिक भेला र बैठकमा सहभागि भएपनि उनको राजनीतिको सुरुवात भने २०४८ सालमा जागिरे जीवनसँगै भयो । जागिरमा रहँदा उनी निजामति कर्मचारीमा सङ्गठनमा आवद्ध भएर काम गरे । पछि २०५९ सालमा घिमिरेको परिवार खोटाङबाट बसाईसराई गरी हालको विराटनगर महानगरपालिका वडा नं १९ मा आयो । उनी पनि जागिर छाडेर विराटनगरमै व्यवसाय एमालेको राजनीतिमा सक्रिय भए ।
हाल एमालेको विराटनगर महानगरपालिका वडा नं १९ को वडा कमिटी अध्यक्ष रहेका घिमिरे लाई एमालले सोही वडाको वडाध्यक्षको उम्मेद्वार पनि बनाएको छ ।