योगेन्द्र मण्डल, ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले मोरङ ५ बाट अन्तिम समयमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर पहिलो पटक सांसद हुनुभयो । संसदको पुरा कार्यकाल नपुग्दै प्रतिनिधिसभा विघटन भयो । करिव ३ वर्षको अवधिमा प्रतिनिधिसभा उहाँले थोरै बोल्नुभयो । तर, महत्वपूर्ण विषयहरु उठान गर्नुभयो । संसद र विषयगत समितिका बैठकहरुमा काठमाण्डौं जाने त्यसपछि निर्वाचन क्षेत्रमै उहाँको दैनिकी वितिरहेको थियो । अचानक गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले मुलुकमा नयाँ परिवर्तन ल्यायो । फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकियो । मुलुक निर्वाचन तर्फ अघि बढ्यो । धमाधम दलहरु दर्ता हुन थाले । राजनीतिक दल बनाउने, संगठन निर्माण गर्ने विषय मण्डलले कहिल्यै सोच्नु पनि भएको थिएन । समर्थकको सोच र आग्रहमा पटक–पटक भएको छलफलमा उहाँको नेतृत्वमा दल दर्ता गर्ने निर्णय भयो । निर्वाचन आयोगमा राष्ट्रिय उर्जाशिल पार्टी दर्ताका लागि निवेदन दर्ता गरियो । आयोगले दल दर्ताको प्रमाणपत्र दिन बाँकी छ । राजनीतिक दल दर्ता र प्रतिनिधिसभाको तीन वर्ष अनुभव लगायतका विषयमा अरुण खवरले गरेको कुराकानीको सारसंक्षेप :
राजनीतिक दल खोल्ने निश्कर्षमा कसरी पुग्नुभयो ?
प्रतिनिधिसभाको सदस्य हुनु अघि म नेकपा एमालेमा थिएँ । ०७९ को निर्वाचनमा पार्टीले टिकट नदिएपछि साथीहरुको सल्लाह अनुशार नै स्वतन्त्र उम्मेदवारी दिएँ । चुनाव पनि जिते । यसपछि म स्वतन्त्र नै भएर बस्ने की राजनीतिक दलमा आबद्ध हुने भन्ने सोच बनाए । एमालेसँग पनि छलफल चल्यो । तर, एमालेबाट ठोस निर्णय आएन । मलाई पनि स्वतन्त्र मात्रै भएर नहुने रैछ भन्ने लागि रहेको थियो । यही समयमा विभिन्न राजनीतिक दलहरु छाडेकाहरुले मलाई पार्टी दर्ताका लागि पहिल्यै देखि दबाव दिईरहनु भएको थियो । उहाँहरुको कुरालाई पनि मैले गंभीर रुपमा लिईरहेको थिएँ ।
विभिन्न क्षेत्रका विज्ञहरुसँग पनि छलफल गर्दै थिएँ । यही बेला जेनजी आन्दोलन भयो । आन्दोलन पछि पार्टी खोल्ने लहर चल्यो । यसपछि साथीहरुबाट थप दबाव आउन थाल्यो । साथीहरुको सुझाव अनुशार नै राजनीतिक दल खोल्ने निश्कर्षमा पुगेँ । स्वतन्त्र भएर काम गरेको ३ वर्ष भईसकेको थियो । त्यसले गर्दा पनि अन्य पार्टीमा जान मन लागेन ।
पार्टीको नाम कसरी जुर्यो ?
राजनीतिक दल खोल्ने निश्कर्ष पछि पार्टीको नाम के राख्ने भनेर साथीहरुवीच निकै छलफल भयो । मैले पार्टीको नाम नेपाली जनताको पार्टी सोचेको थिएँ । तर काठमाडौमा साथीहरुसँग छलफल गर्दा राष्ट्रिय उर्जाशिल पार्टीमा सहमति भयो । यो नाम सबैलाई मन पर्यो ।
चुनाव चिन्ह कल राखिएको छ । कल छापमा अर्को दलको पनि दावी परेपछि निर्वाचन आयोगले निर्णय दिएको छैन । तर मुद्धा हामीले जित्छौं । अर्को दलले कुल चुनाव चिन्ह राख्नु अघि हामीले निवेदन दिएकाले हाम्रो पक्षमा निर्णय हुने सुनेको छु । मंसिर १० गते भित्रमा हाम्रो दल आधिकारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको प्रमाणपत्र हामीले प्राप्त गर्ने छौं ।
राष्ट्रिय उर्जाशिल पार्टी केन्द्रीय समिति कस्तो छ ?
हामीले सानो संख्याको केन्द्रीय समिति बनाएका छौं । अहिले २७ जनाको केन्द्रीय समिति छ । पार्टीको संयोजक म छु । यो तदर्थ समिति हो । हाम्रो पार्टीमा व्यवसायीहरू धेरै छन् । विभिन्न क्षेत्रका विज्ञहरु पनि पार्टीमा हुनुहुन्छ । नयाँ केही गरौं भन्ने सोच भएका साथीहरु आबद्ध हुने क्रम छ । विभिन्न जिल्लाहरुबाट पार्टीमा आबद्धताका लागि फोन आईरहेको छ । पार्टी दर्ताका लागि ६३० जनाले सनाखत गर्नु भएको छ । अहिले सम्म १७ जिल्लाका साथीहरु पार्टीमा आबद्ध हुनुहुन्छ ।
आगामी निर्वाचनमा देशभरबाट उम्मेदवारी दिनुहुन्छ ?
हामी धेरै सांसद बनाउने, सरकारमा जाने सोच तत्काल लिएका छैनौं । सवै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउन मलाई समस्या छैन । तर त्यसरी जाने हामीेले सोचेका छैनौं । चुनावमा परिणाम निकाल्ने कुरा महत्वपूर्ण हो । स्थापित राजनीतिक पार्टीहरूको सिद्धान्त र संस्कारमा मेल भएन । देशलाई माया गर्ने कोही भएन । हामी पनि उनीहरु जस्तै भयौं भने परिवर्तन ल्याउन सकिदैन । हाम्रो पार्टीको उद्देश्य सुशासन कायम गर्ने हो ।
देश बनाउन अठोट चाहिन्छ । त्यो अनुभव मैले लिएको छ । चुनावमा शून्य सांसद भएपनि हामीलाई केही फरक पर्दैन । हामी उद्देश्यबाट विचलित हुने छैनौं । हामीले भ्रष्टाचार अन्त्य गर्ने नीति लिएका छौं । प्रतिनिधिसभा सदस्य भएपछि मैले धेरै कुराहरुको अनुभव गर्ने मौका पनि पाएँ । साथी (सांसद)हरु मन्त्री भइएन भने चुनाव लड्न सकिदैन भनेर भन्ने गर्छन । यो भनेको चुनावमा करोडौं खर्च गर्ने अनि मन्त्री भएपछि भ्रष्टाचार गर्ने प्रवृत्तिकै कारण हाम्रो देश बन्न सकेन । त्यसले गर्दा भ्रष्टाचार अन्त्य आवस्यक छ । यो नेतामा मात्रै हैन कर्मचारी पनि भ्रष्ट छन् । कर्मचारीहरुबाट पनि यो समस्याको अन्त्य गराउनु पर्छ ।
हामी नेपालबादको पक्षमा छौं । हाम्रो पार्टीले नारा, जुलुस, आमसभा गर्ने छैन ।
तपाइँहरुको पार्टी अन्य भन्दा के कुरामा फरक हुन्छ ?
पुराना राजनीतिक दल भन्दा हामी पूर्ण रुपमा फरक हुने छौं । हामी नेपालबादको पक्षमा छौं । हाम्रो पार्टीले नारा, जुलुस, आमसभा गर्ने छैन । हामी काम गर्छौं । हाम्रो पार्टीको जिल्लामा कार्यालयहरु हुने छैन । चुनाबका बेला टेन्ट टाँगेर बस्छौं । रातो चिया खुवाउँछौं ।
हाम्रो पार्टीमा भिजन भएकाहरु मात्रै आबद्ध हुन सक्ने छन् । हामीले लिएका उद्देश्यहरु एक दुई वर्षमा पुरा हुने गरि तय गरेका छैनौं । बर्षैं लाग्ने छ । भारतमा जसरी अटल विहारीले शुरुमा संसदमा एक्लो थियो । पछि उनी भारतमा जसरी छाए । त्यही तरिकाले हामी काम गर्ने छौं । उद्देश्य पुरा हुन समय लाग्ला हामी निरन्तर अविचलित रुपमा लाग्ने छौं ।
तपाइँले लिएको लक्ष्य पुरा गर्न संभव छ ?
संभव छ । म निरन्तर कर्ममा विश्वास गर्छु । शुरुमा मैले जीवन विकासको आजको अवस्थामा ल्याउने सपना देखेको थिएँ । आज पुरा गर्न सफल भएको छु । पार्टीमा पनि यसरी नै काम हुने छ । हाम्रो लक्ष्य जनताले एक दिन मज्जाले बुझ्नेछन् त्यो अपेक्षा हामीले लिएका छौं ।
बालेन साह र कुलमान घिसिङ पनि राजनीतिक दल दर्ता गरेर चुनावमा जान खोजिरहेका छन् । उहाँहरु कस्तो लाग्छ ?
बालेन साह र कुलमान घिसिङ देशका लागि घातक हुन । बालेन र कुलमानको कुर्तुत चाँडै सार्वजनिक हुन्छ । यिनीहरुबाट देश बन्दैन । उनीहरु स्टन्ट गर्ने मात्रै हुन । यिनीहरु परिचालित व्यक्ति हुन । जनताहरुले उनीहरुका बारेमा छिट्टै थाहा पाउँछन ।
प्रतिनिधिसभा सदस्यको अनुभव कस्तो रह्यो ?
प्रतिनिधिसभाको पुरा कार्यकाल विताउन पाएनौं । करिव ३ वर्षको अवधिमा मैले कुराहरु सिक्ने अवसर पाएको छु । प्रतिनिधिसभामा मैले धेरै पटक बोलिन । जति बोले संभव हुने कुरा मात्रै बोले । सरकारलाई राम्रो सुझाव पनि दिएँ । मैले मलको विषयमा राम्रो सुझाव दिएँ । त्यसमा सरकारले काम गर्न सकेको भए हामीलाई मलको अभाव कहिल्यै हुदैनथ्यो ।
नेपालले आफ्नै कच्चा पदार्थ प्रयोग गर्नु पर्छ । हामीले विदेश कम्पनीसँग प्रतिष्पर्धा गर्न सक्दैनौं । मैले रासायनिक मल विना पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण दिएँ । नेपालले मलमा जति खर्च गरिरहेको छ । त्यसले नेपालमा आफ्नै मल उद्योग स्थापना गर्न सकिन्छ । मलको अभाव नेपालमा कहिल्यै हुँदैन । मैले रासायनिक मल विना पनि राम्रो उत्पादन गरिरहेको छु । युरिया, डिएपी ल्याउने पैशाले नेपालमै खर्च गरेर कम्पोष्ट मल बनाउने । ८ लाख गाई भैसीबाट नेपालमा पुग्ने मल उत्पादन गर्न सकिन्छ । मलको कहिल्यै अभाव हुँदैन ।
नेपालले आफ्नै मल उद्योग स्थापना गर्न सक्छ । यसको योजना मसँग छ । पर्यटन क्षेत्रबाट करोडौं आम्दानी गर्न सकिन्छ ।
नेपालले पर्यटन क्षेत्रबाट पनि राम्रो आम्दानी गर्न सक्छ । पर्यटन क्षेत्र हाम्रो राम्रो छ । नेपालसँग सीमा जोडिएका भारतका केही राज्यहरुमा ४२ डिग्री तापक्रम हुँदा नेपालमा १८ डिग्री हुन्छ । ४२ बाट १८ डिग्रीमा आउने करिव ३ घण्टाको दुरी पुरा गर्नुपर्छ । यस्तो जनसंख्या भारतमा १३ करोड छ । १३ करोड जनसंख्या ३ घण्टाको दुरीमा नेपालको १८ डिग्री मौसमा आइपुग्छ । यसलाई केन्द्रीत गरेर सरकारले काम गर्ने हो भने देशलाई समृद्ध बनाउन कुनै समस्या छैन । धार्मिक पर्यटनमा पनि हाम्रो संभावना छ । यसमा पनि सरकारको ध्यान पुग्न सकेको छैन । यो कुरा मैले संसदमा उठाएको थिएँ ।
मैले सरकारलाई पटक–पटक दिएको सुझाव भनेको विभिन्न आन्दोलनका घाईतेलाई नगद नबाडौं भने । पीडितलाई पैशा नदिउँ । उद्यममा लगाउँ । यस्तो हुँदा रोजगार पनि हुन्छ । मालिक पनि हुन्छ भनेर सुझाव दिएँ । ८–१० जनाले पाउने पैशा एक बनाएर उद्यम गरे रोजगार पनि हुने थियो भने यसमा सरकारले चासो दिएन ।
३ महिना भित्र ३५ हजार कमाउने तपाइँको आइडिया निकै चर्चित छ नी ?
मैले जति कुरा गर्छु । ति संभव हुने भएर गर्ने गरेको छु । मैले सरकारलाई ३ महिना भित्रमा ३५ हजार कमाउन सकिन्छ भन्ने आइडिया दिएकै हो । यसले आम्दानी मात्र हैन घरेलु हिंसा पनि कम गर्न सकिने थियो । अहिले हाम्रो समाजमा मजदुर साथीहरु काम भएन भने पनि मदिरा खाने, जाडो भए मदिरा खाने अनि घरमा गएर झगडा गर्ने परिपाटी छ । यसले घरेलु हिंसा बढाएको छ । यसका लागि मेरो सुझाव के थियो भने घरेलु मदिरालाई कानुनी दायरामा ल्याउने । लाइसेन्स पालिकाबाट लिने प्रवन्ध गर्ने । खुल्ला बच्न प्रतिबन्ध लगाउने । एक घरले दैनिक ३ हजारको मदिरा बनाउने गरेका छन् ।
सरकारले मदिरा संकलन गरेर प्रशोधन गर्दा मात्रै पनि ५० प्रतिशत नाफा हुन्छ । मेरो अध्ययन अनुशार एक दिनमै १ करोडको आम्दानी सरकारलाई हुने हिसाव मैले दिएको थिए । खुल्ला नबेचेपछि घरेलु हिंसामा त्यसै कमी आउने थियो । घरेलु मदिरा हानिकारक पनि हुन्छ । प्रशोधन गरेपछि राम्रो पनि हुने थियो । घरेलु मदिरा पुलिसले पोख्ने गरेको छ । यो मदिरा मात्रै पोखिएको छैन । स्प्रीट पनि पुलिसले पोखिराछ । त्यही स्प्रीट सरकारले करोडौ रुपमा लगाएर खरिद गर्छ । त्यसले गर्दा घरेलु मदिरा बनाउनेले मासिक ३५ हजार कमाउन कुनै समस्या छैन । तर, सरकारले काम गर्नु पर्यो ।