मोरङको जहदामा खाल्डोभित्र भेटियो गाँजा, २७५ किलो बढी बरामद

विराटनगर २ फागुन । मोरङको जहदामा खाल्डो खनेर लुकाइएको अवस्थामा शनिबार बिहान ठूलो परिमाणमा गाँजा फेला परेको छ । प्रहरीले २ सय ७५ किलो बढी बरामद गरेको छ ।

खाल्डो बनाउँदै माथिबाट परालले छोपेर राखेको अवस्थामा २ सय ७५ किलो ८ सय ग्राम गाँजा भेटिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार जहदा गाउँपालिका–१ का अन्दाजी २८ वर्षीय चन्दनकुमार साहले गाँजा लुकाएर राखेको गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिन सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको डीएसपी तिलकबहादुर खड्का र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको इन्स्पेक्टर कविन राई नेतृत्वको संयुक्त टोलीले बिहान ६ बजेतिर खानतलासी गरेको थियो । त्यस क्रममा साहको घरबाट पश्चिमतर्फ रहेको जमिनमा खाल्डो बनाई माथिबाट परालको कुनिउँले छोपेर कालो रंगको प्लाष्टिकमा लुकाइछिपाइ राखिएको अवस्थामा ९ पोका गाँजा फेला परेको डीएसपी चौधरीले बताए । तौल लिँदा २ सय ७५ किलो ८ सय ग्राम भएको हो ।

उनका अनुसार गाँजा बरामद गरेर साहलाई पनि पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धानबाट गाँजा भण्डारण गर्ने कार्यमा संलग्न देखिएका साहलाई आफ्नै घरको कोठामा लुकिछिपी बसिरहेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पक्राउ परेका साह र बरामद गरिएको गाँजालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

साहविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । उक्त गाँजा कहाँबाट ल्याइएको र कता लैजान खोजिएको हो तथा यसको धन्दामा को को संलग्न छन् भन्ने पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गाँजा बरामद भएको स्थान नेपाल–भारत सीमानजिकै पर्छ । सुरक्षाकर्मीलाई छलेर गाँजा भारत कटाउनका लागि सीमा क्षेत्रनजिकै भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।