विराटनगर १ फागुन । गत बैशाखमा कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा प्रतिबद्धता व्यक्त भएका ५० वटा परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेका छन्।
कोशी प्रदेश सरकारले ५१ वटा परियोजनामा समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।
प्रदेशहरूमा पहिलो पल्ट भएको लगानी सम्मेलनको फलो अप कार्यक्रम अन्तर्गत बिहीबार विराटनगरमा लगानी सम्मेलनका उपलब्धिका बारेमा समीक्षा गरिएको छ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लगानी सम्मेल नमा आएका प्रतिबद्धताहरुलाई कार्यान्वयनमा लैजानका लागि हरेक तीन महिनामा छलफल गर्ने रणनीति लिएको बताउनुभयो।
गत वैशाखमा लगानी सम्मेलनपछि लगानीकर्ताहरूसँग व्यक्तिगत र सामूहिक छलफल भएपनि बिहिबार भने व्यापक रुपमा छलफल गरेर देखिएका कानुनी उल्झन हरु समाधान गर्ने प्रयत्न गरिएको जानकारी दिनुभयो।‘प्रदेश समृद्धिको आधारः उद्योग, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो सम्मेलनमा ७१ वटा गौरवका आयोजनाहरू लगानीका लागि प्रस्तुत (सोकेस) गरिएको थियो ।
सम्मेलनका क्रममा ५१ वटा परियोजनाका लागि कुल १ खर्ब ५७ अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता (समझदारी पत्रमा हस्ताक्षर) प्राप्त भएको थियो ।
प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले पाँचवटा परियोजना भने पिडिए माने गइसकेको जानकारी दिनु भयो। कार्यकारी निर्देशक कोइरालाले परियोजना अगाडि बढ्ने विषयले उत्साह छाएको बताउनुभयो।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले राजनीतिक तहको पहल कदमीमा लगानी सम्मेलनको गरेर लगानी भित्र्याउने वातावरणले कोशी प्रदेशमा लगानीको सम्भावनालाई उजागर गरेको बताउनुभयो।
कार्यक्रममा सहभागि लगानीकर्ताहरुले आफ्नो परियोजनाको कार्यान्वयनको अवस्था र चुनौतीका विषयमा जानकारी गराएका थिए ।