विराटनगरमा नेपाली काँग्रेसले भोली चुनावी सभा गर्ने

विराटनगर, २० वैशाख । नेपाली कांग्रेसले भोली बुधबार विराटनगरमा बृहत चुनावी सभा गर्ने भएको छ । देशका प्रमुख १० शहरमा चुनावी सभा आयोजना गर्ने कार्यक्रम अनुसार पहिलो कार्यक्रम भोली विराटनगरमा गरिने कांग्रेस जनाएको छ ।


चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार २१ वैशाखमा विराटनगरमा, २२ वैशाखमा चितवनको भरतपुरमा, २३ वैशाखमा काठमाडौंमा, २४ वैशाखमा रुपन्देहीको बुटवलमा, २४ वैशाखमा तनहुँको दमौली र धनुषाको जनकपुरमा, २५ वैशाखमा कास्कीको पोखरा र दाङको तुलसीपुरमा, २६ वैशाखमा कैलालको धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना हुने भएको हो ।


चुनावी सभालाई सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, पार्टीका प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।