उर्लाबारी १ मा एमालेको विरासत पाण्डेले जोगाउलान ?

विराटनगर, १८ वैशाख । उर्लाबारी–१ साविक मधुमल्ला ७, ८ र ९ नम्वर वडा हो । बहुदलपछि भएका सवै स्थानीय तह निर्वाचनमा यसक्षेत्रमा एमालेले बर्चस्व कायम गर्दै आएको छ ।

अहिलेसम्म भएका कुनैपनि निर्वाचनमा एमाले पराजित हुनु परेको छैन । ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमाले उम्मेदवार नै विजयी भएका थिए । एमालेले ५१३ मत अन्तरले कांग्रेस उम्मेदवारलाई पराजित गरेको थियो ।

एमालेबाट उम्मेदवारी दिएका मचिन्द्रकुमार कार्कीले १२४७ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७३४ मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रका चेतराज श्रेष्ठले ५६८ मत ल्याएका थिए । जनमुक्तीका रामकुमार लिम्वुले ४२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार दिलबहादुर मगरले ६ मत ल्याएका थिए ।

वडाध्यक्ष सहित ५ जना नै उम्मेदवार विजयी भएको उर्लाबारीका १ का लागि २०७९ को निर्वाचन त्यति सहज देखिएको छैन । पार्टी विभाजनको असर उर्लाबारी १ मा देखिएको छ । लामो समय सम्म एमालेमा सक्रिय नेताहरु चुपचाप बसेका छन् । एमालेबाटै निर्वाचित वडाध्यक्ष कार्की नेकपा एकिकृत समाजवादीबाट चुनावी प्रतिष्पर्धामा छन् । ५ हजार १७४ मतदाता रहेको उर्लाबारीमा मुख्यगरि त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिन्छ । एमाले उम्मेदवार तिलक पाण्डे, नेपाली कांग्रेसका गोविन्द भट्टराई र निवर्तमान वडाध्यक्ष मचिन्द्रकुमार कार्की अहिले चुनावी प्रतिष्पर्धामा छन् ।

एमाले, कांग्रेस एक्लाएक्लै प्रतिष्पर्धामा छन् भने एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनता समाजवादीले गठबन्धन गरेका छन् । ०७४ मा कार्कीसँगै प्रतिष्पर्धा गरेका कांग्रेस उम्मेदवार भट्टराईले पनि चुनावी अभियानलाई तीव्र पारेका छन् । मुख्य तीन उम्मेदवारसँगै मंगोल नेशनल अर्गनाईजेसनबाट मणिकुमार तामाङ र राप्रपाबाट सीतादेवी कुरुवाङले पनि चुनाव अभियानलाई अघि बढाएका छन् ।

उर्लाबारी १ मा यस पटक नजिता उल्टन सक्ने काँग्रेस नेताहरुको दावी छ । तर, एमालेको विरासतलाई कायम रहनेमा एमाले नेताहरु ढुक्क देखिएका छन् । एमाले उर्लाबारी नगर प्रचार विभागका प्रमुख मदन दाहालले आफ्नो पार्टीको जित निश्चित भएको दावी गरे । एमाले उम्मेदवार हरेक घर–घर टोल टोलमा पुगिरहेको उनको भनाई छ ।

एमालेका लागि स्व. दाहालको अभाव खड्कीने
एमाले उर्लाबारी १ का लागि यस पटकको निर्वाचनमा स्वर्गीय मुक्तिनाथ दाहालको अभाव खड्कीने देखिएको छ ।

हरेक निर्वाचनमा सक्रिय हुने दाहालको निधनको असर उर्लाबारी १ मा प्रत्यक्ष रुपमा देखिने एक नेताले बताए । उनले भने,‘ हरेक निर्वाचनमा उम्मेदवारलाई भन्दा बढी दाहाललाई निर्वाचन लाग्ने गथ्र्यो ।’ उनका अनुसार उम्मेदवारका लागि प्रचार सामग्री, सहयोग जुटाउने , मतदाता को–कहाँ छन् , सवैलाई सम्पर्क गर्ने मतदानमा सहभागि गराउने कार्यमा दाहालको शसक्त भूमिका रहने गथ्र्यो ।

यस पटक निर्वाचनमा एमालेमा यस्ता कमाण्डर नभएको उनले बताए । ०७४ को निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउन दाहालको भूमिका उल्लेखनिय रहेको निवर्तमान वडाध्यक्ष कार्की बताउने गर्थे ।