विराटनगर महानगरपालिका वडा नं. ८ को जनसंख्या १८ हजार ७६ रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुशार पुरुष ९०३७ र महिला ९०३९ छ । वडामा महिला र पुरुषको जनसंख्या बराबरकै अवस्थामा छ । विराटनगर ८ आवासिय क्षेत्र भएकाले वडाले मुख्य प्राथमिकतामा पनि पूर्वाधारलाई नै राखेको छ । सडको स्तरोन्नती, नाला निर्माण, कालोपत्रे, कल्भर्ट, तटबन्ध लगायतको क्षेत्रमा वडाको ठुलो बजेट खर्च हुँदै आएको छ । वडाले भौतिक पूर्वाधार पछि स्वास्थ्यलाई बढी जोड दिएको छ । स्वास्थ्यको क्षेत्रमा वडाले उल्लेखनिय कार्य गरेको छ । विभिन्न स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा बर्षैभरि स्वास्थ्यका अभियानहरु सञ्चालन भएका छन् । स्वास्थ्य शिविरमा दन्त परीक्षण, दाँत खोल्ने, लगाउने, आँखा शिविर लगायतका कार्यक्रमबाट ९३१ र आधारभुत स्वास्थ्य केन्द्रबाट २३४० जनाले सेवा लिएको वडाको अभिलेखमा उल्लेख छ । वडाध्यक्ष राम पोखरेलसँग अरुण खवरले गरेको कुराकानीको सारसंक्षेप :
मुख्यगरि वडाको प्राथमिकता के मा छ ?
म विराटनगरको ८ को अध्यक्षमा निर्वाचित भएर आएदेखि नै भौतिक पूर्वाधारका कामहरुलाई बढी प्राथमिकता दिएर काम गरिरहेको छ । मलाई यस वडाको अवस्थाकाबारेमा पहिल्यै जानकारी भएकाले पनि काम गर्न, योजना बनाउन कुनै समस्या भएन । पूर्वाधारमा पछिल्लो २ वर्षमा उल्लेखनीय काम भएको छ । हाम्रो वडा आवासीय क्षेत्र पनि भएकाले पूर्वाधारका कामलाई बढी प्राथमिकता दिएका हौं । भौतिक पूर्वाधारसँगै हामीले स्वास्थ्य, शिक्षा, खानेपानी, डुवान नियन्त्रण, खेलकुद, फोहोरमैला व्यवस्थापन लगायतका काम गर्दै आएका छौं । वडाको आवस्यकताहरु धेरै छन् । तर हामीसँग सिमित बजेट भएकाले कामहरुलाई सोचे जस्तो तीव्रता दिन सकिएको छैन ।
पछिल्लो २ वर्षमा के के काम सम्पन्न भए ?
पछिल्लो २ वर्षमा पूर्वाधारकै क्षेत्रमा विशेष कामहरु भएका छन् । सडक, नाला, कालोपत्रे लगायतका कामहरु गरिएका छन् । स्वास्थ्यका कार्यक्रम, शिक्षा क्षेत्रमा कामहरु भएका छन् । वडाका विकासले गति लिएको छ । कार्यकाल भित्रमा विराटनगर ८ लाई नमूना वडा बनाउने योजना छ । वडाका विकासमा नगरको बजेटले मात्रै संभव नभएपछि प्रदेश सरकार, संघीय सरकार समक्ष पनि पहल गरेर बजेट ल्याएर काम गरिएको छ ।
वडामा गर्नु पर्ने मुख्य काम के छ ?
हामीले वडाले गर्ने मुख्य कामहरु पहिचान गरेर योजनाबद्ध रुपमा काम गरिरहेका छौं । वडामा पूर्वाधारका कामसँगै सुकुम्वासी समस्या पनि छ । सुकुम्वासीको समस्या समाधानका लागि पनि हामीले काम गरिरहेका छौं । डुवान नियन्त्रण, सरफाई, स्वास्थ्य, सरसफाई क्षेत्रको काम छ ।
करको दायरा बढाउन कस्तो योजना छ ?
वडाले कर बृद्धिमा पनि विशेष जोड दिएको छ । यसका लागि हामीले करको दायरा बढाएका छौं । चालु आर्थिक वर्षमा हामीले करिव २ करोडको हाराहारीमा कर संकलन गरेका छौं । हरेक वर्ष यसलाई बृद्धि गरेर लैजानका लागि दायरा बढाउन आवस्यक छ । यसका लागि हामीले व्यवसाय दर्ता, नविकरण, सटरहहरुको कर नतिरेको पाईएपछि उनीहरुलाई करको दायरामा ल्याउने काम गरेका छौं ।
चुनौति के छन् ?
चुनौति त काम गर्ने क्रममा आईनै रहन्छन् । आवस्यकता बढी छ । श्रोत सिमित छ यसले पनि समस्या सिर्जना गर्ने गर्छ । हामी पूर्वाधारलाई बढी प्राथमिकता राखेर काम गर्ने क्रममा केही समस्याहरु पनि आउने गरेका छन् । मापदण्ड अनुशारकै सडक निर्माण गर्ने क्रममा मुद्धा मामिला पनि झेल्नु पर्छ । यसले कामको गति बढ्न दिँदैन भने निर्धारित समयमा काम सम्पन्न हुँदैन । त्यस्तै माग गरेको ल्याएको बजेट टेण्डर प्रकृया मार्फत गर्दा ठेकेदार काम सम्पन्न नगरी भागी दिने, बाटो अलपत्र पारिदिने काम हुँदा पनि समस्या हुने गरेको छ ।
आगामी आर्थिक वर्षका मुख्य–मुख्य योजना के छन् ?
आगामी आर्थिक वर्षका लागि पनि पूर्वाधारकै क्षेत्रमा बढी काम गर्ने योजना छ । समपुरक अनुदान अन्र्तगत साहारा मार्गका लागि १ करोडको बजेट छ । त्यसैगरि ज्ञानकुञ्ज मार्ग स्तरोन्नतीका लागि एक करोड, सुशिल कोइराला फाउण्डेसनका लागि १ करोड ५० लाख, बधशालाका लागि एक करोड, हाट वजार टहरा निर्माण, शहरी स्वास्थ्य केन्द्र निर्माण, खानेपानी लाईन विस्तारका कामहरु मुख्य प्राथमिकतामा छन् ।