विराटनगर २८ कात्तिक । स्वास्थ्य कार्यक्रमहरुको कोशी प्रदेश स्तरिय एकिकृत वार्षिक समीक्षा गोष्ठी विराटनगरमा शुरु भएको छ ।
समीक्षा गोष्ठीको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री भूपेन्द्र राईले दक्ष जनशक्ति विना स्वास्थ्य क्षेत्रको अवस्था सुधार नहुने बताउनुभयो । उहाँले दक्ष जनशक्तिको व्यवस्थापनमा प्रदेश सरकार लागि परेको बताउनुभयो ।
मन्त्री राईले गत वर्ष स्वास्थ्य क्षेत्रमा देखिएको समस्याको सुधार नभएकोमा गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘ गत वर्षको समीक्षामा आएका सुझाव अनुशारको कमजोरी सच्याएर गएको देखिएन, आगामी वर्ष यस्तो नहोस् ।’
स्वास्थ्यमा मेहनत अनुशारको परिणाम देखिन समय लाग्ने भएकाले स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर लाग्न उहाँले आग्रह गर्नुभयो ।
बार्षिक समीक्षामा आएका सुझाव अनुशार स्वास्थ्य निर्देशनालयले कार्यक्रमहरु तय गर्ने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर वस्नेतले बताउनुभयो । उहाँले स्वास्थ्यको जनशक्ति थोरै भएपनि मनशक्ति धेरै भएको बताउनुभयो ।
समीक्षामा आएका सुझाव अनुशार अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरे, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख डा.चुमनलाल दास लगायतले बोल्नु भएको थियो ।
आ.व. २०८१–०८२ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको प्रस्तुतीकरण, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तुतीकरण र स्वास्थ्य मन्त्रालय कोशीको प्रस्तुतीकरण, स्वास्थ्य सूचकहरुको जिल्लागत प्रस्तुतीकरण, जिल्ला स्वास्थ्य कार्यालय्हरुको प्रस्तुती, कोशी अस्पताल, मेची प्रादेशिक अस्पताल , जिल्ला अस्पतालहरु, विश्व विद्यालय र शिक्षण अस्पतालहरुको प्रस्तुतीकरणहरु आज गरिएको छ ।
तीन दिन सम्म चल्ने गोष्ठीमा स्वास्थ्य मन्त्रालय, मन्त्रालय अन्तरगतका निकायहरु, जिल्ला स्वास्थ्य कार्यालयहरु, अस्पताल, आयुर्बेद स्वास्थ्य केन्द्रहरुको बार्षिक समीक्षा हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।
