विराटनगर २८ जेठ । मोरङमा समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप परीक्षण प्रभावकारी बन्दै गएको छ । पछिल्लो तीन वर्षमा कार्यक्रमको प्रभावकारिता बढेको पाईएको छ । आर्थिक वर्ष ०७८–०७९ मा मोरङका ४ वटा स्थानीय तहहरुबाट शुरु भएको कार्यक्रम आ.व. २०८०–०८१ सम्म आईपुग्दा १२ वटा स्थानीय तहमा पुगेको छ । आगामी आर्थिक वर्षदेखि मोरङका सवै पालिकामा पुर्याउने लक्ष्य राखिएको छ ।
समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप सम्वन्धी हालै सम्पन्न अभिमुखीकरण कार्यक्रममा कार्यक्रमको प्रभावकारिता बढेको सरोकारवालाहरुले बताएका थिए । स्वास्थ्य कार्यालय मोरङले समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप सम्वन्धी कार्यक्रम मोरङका १२ वटा स्थानीय तहमा सञ्चालन गरिरहेको छ । आर्थिक वर्ष २०७८–०७९ देखि स्वास्थ्य कार्यालय मोरङले कार्यक्रम शुरु गरेको हो ।
पहिलो चरणमा लेटाङ, सुन्दरहरैचा, जहदा, धनपालथानमा कार्यक्रम शुरु गरिएको स्वास्थ्य कार्यालय मोरङका अधिकृत शेखर यादवले बताउनुभयो । घर–घरमा गएर मधुमेह र उच्च रक्तचाप परीक्षण शुरु गरेका कारण यसको प्रभावकारीता बढ्दै गएपछि आ.व. २०७९–०८० मा सुनबर्षी, बेलबारी, ग्रामथान र विराटनगरका ८ र १८ नंवर वडामा कार्यक्रम शुरु गरिएको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षदेखि बुढीगंगा, कानेपोखरी, रंगेली र विराटनगरका ६, ९ र १५ नं. वडामा कार्यक्रम थपिएको यादवले बताउनुभयो । आगामी आर्थिक वर्षदेखि मोरङका सवै स्थानीय तहहरुमा समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप परीक्षण कार्यक्रम सञ्चालनको तयारी गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रम अन्र्तगत समुदायमा गएर महिला स्वास्थ्य स्यंसेविकाहरुले मधुमेह र उच्चरक्तचापको परीक्षण गर्नुका साथै स्वास्थ्य सल्लाहपनि दिने गरेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले बताउनुभयो । स्वास्थ्य परीक्षणसँगै खानपानमा नियन्त्रण गर्न दिईने गरेको सल्लाहले पनि धेरैको स्वास्थ्यमा सुधार ल्याउन सकिएको उहाँले बताउनुभयो । उहाँका अनुशार स्वास्थ्य परीक्षण गरिएका व्यक्तिहरुको रेकर्ड पनि राख्ने गरिएको छ । हरेक वर्ष कार्यक्रमको प्रभावकारीता बढ्दै गएको डा. मेहताको भनाई छ ।
विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षदेखि उच्चरक्तचाप र मधुमेहको समुदायमा आधारित स्वास्थ्य परीक्षण कार्यक्रमलाई सवै वडामा पुर्याउने लक्ष्य लिएको महानगर प्रमुख नागेश कोइरालाले
बताउनुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यसलाई प्राथमिकता दिईने उहाँले बताउनुभयो । प्रमुख कोइराला खानपानमा ध्यान दिन सके मधुमेह र उच्चरक्तचापलाई नियन्त्रणमा राख्न सकिने बताउनुभयो ।
महिला स्वास्थ्य स्वंसेविकाहरुले पनि समुदाय स्तरमा गएको गरिएको स्वास्थ्य परीक्षण धेरै प्रभावकारी भएको बताए । स्वास्थ्य कार्यालय मोरङको आयोजना तथा विराटनगर महानगरपालिकाको सहआयोजनामा समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप रोगको पहिचान गर्ने सम्वन्धी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि तीन दिने अभिमुखीकरण कार्यक्रममा स्वयंसेविकाहरुले समुदायमा आधारित कार्यक्रमको धैरै राम्रा प्रतिक्रिया पाएको बताएका थिए ।