यात्रा संस्मरण : तिर्सना नमेटिने ‘तीनजुरे’ पृथ्वीको सुन्दर उपहार’

चीना थापा
सानै देखि नयाँ नयाँ ठाउँ गुम्न मन पराउने म । तर, धेरै ठाउँ गुम्न पाएको भने छैन् । मौका मिल्दासम्म घुमिहाल्छु । विविध कारणले गर्दा कतिपय एकदमै जान मन लागेको ठाउँमा पनि जान सकेको छैन् । अवसर पाएको र घुम्न समय मिलेपछि म हिँडिहाल्छु ।

यसैक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले केही पत्रकारहरुको टोलीलाई तेह्रथुमको तीनजुरे लैजाने निर्णय गरेको रहेछ । सञ्चार क्षेत्रको विभागीय मन्त्रालय पनि भएकाले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरि प्रचार प्रसारकोलागि एउटा अबसर मिलेको थियो ।

जुन ठाउँमा जाने रहर धेरै हुँदा हुँदै पनि अवसर जुरेको थिएन । कहिले तीनजुरे जाने अवसर जुर्ला भनेर कुरीरहेकी मलाई जाने लिष्टमा नाम पर्दै खुसीको सिमा रहेनन् । लाग्थ्यो त्यहाँ पुगेपछि म कत्ति खुसी हुन्छुहोला ।

तीनजुरे जान पाउने खुसीका साथ म सहित विराटनगरका १५/१६ जना पत्रकार बैशाख २१ गते दिउँसोको समयमा तेह्रथुमतिर लाग्यौँ । हामीलाई मन्त्रालयका तीर्थराज बुढाथोकीले समन्वय गर्नुभएको थियो ।

इटहरी पुगेपछि झापाबाट पनि साथिहरु थपिनुभयो । हामी तेह्रथुमको नुनथलामा बाँस बस्न ८ बजे पुग्यौं । त्यहाँ पुग्दा हामी भन्दा अघि नै मन्त्रालयको टोली पुगिसकेको थियो । तत्कालिन मन्त्री शमशेर राई आलु पोल्दै हुनुहुन्थ्यो । चिसो सिरेटो, आगो ताप्दै पोलेको आलु, लाग्थ्यो म कुनै अलौकीक आनन्दमा छु । त्यहाँको वातावरणले बाल्यकाल पनि सम्झाउँथ्यो । बच्चामा हामी चिसो मौसम सु रुभएपछि ५/६ जना जम्मा हुने । जसको घरमा कोही छैनन्, त्यहाँ आगो बालेर आलु पोलेर खान्थ्यौँ ।

राति खाना खाने समयमा तेह्रथुमका दुई जना पत्रकार साथिहरु पनि थपिए । परिचयबाट यात्राको औपचारिक शुरुवात भयो । मन्त्री, राज्यमन्त्री, पत्रकार तथा मन्त्रालयका कर्मचारी सहित ३०/३५ जना भन्दा बढी सहभागी रहेको हाम्रो टोलीमा कुन ठाउँ कसरी गुम्ने भनेर योजना बन्दै थियो । तर, म भने योजना भन्दा पनि ती ठाउँ कस्तो होला भन्दै कल्पिन्थेँ । अनी भित्र भित्रै मुस्कुराउथेँ ।

चिसो हावा, गुँरासको जुस अनि त्यहाँको लोकल परिकार सहितको हाम्रो रमाईलो सम्झना लायक बन्यो । भोली पल्ट अर्थात बैशाख २२ गते विहान् ७ बज्दा नबज्दै नुनथला होटलबाट छुट्टीने तयारी सहितको हाम्रो बास नुनथलामै भयो ।

२२ गते विहान ७ नबज्दै हाम्रा साथीहरु हल्ला गर्दै ओरालो झरिसकेका थिए । हामी चोलुङ पार्क निस्कने तयारीमा थियौँ । जुन पार्क प्रकृति पुजकहरुले आस्थाको केन्द्रको रुपमा लिएको प्राकृतिक छटाले भएको स्थल हो । हामी त्यहाँ पुग्दा प्रकृतिको अर्कै सुन्दरता भेटियो ।

पूर्वीपहाडी भेगमा बसोवास गर्ने लिम्बु समुदायको ढुंगासँग छुट्टै सम्बन्ध रहिआएको छ । यो जातिमा जन्मदेखि मृत्यु पर्यन्त ढुंगाको प्रयोग रहने गरेको छ । जन्म, विवाह र मृत्युजस्ता सामाजिक कार्यमा ढुंगाको प्रयोग अनिवार्य छ । त्यतिमात्र नभई कसैसँग झैं–झगडा भएर मिल्नुपर्दा, मितेरी साइनो गाँस्दा, सम्बन्ध जोड्दा वा तोड्दाको निशानी एवं प्रतीकका रूपमा ढुंगा गाड्ने परम्परा रहेछ ।

लालिगुँरास नगरपालिका कार्यपालिका प्रवक्ता तथा वडा नं. ७ का वडाअध्यक्ष देवेन्द्र खड्काले हामीलाई पार्कको विशेषताको बारेमा जानकारी गराएका थिए । लिम्बु समुदायले जन्मेदेखि गर्ने हरेक काममा ढुंगालाई साक्षी राख्ने गर्छन् ।

लिम्बु मुन्धुममा यसरी साक्षी राखिने ढुंगालाई ‘मेन्दुरी प्यासाङा’ भनिन्छ । लिम्बुको आदिमकालदेखि चलिआएको यो सभ्यतालाई पुनः जागृत गराउन तेह्रथुमको लालीगुराँस नगरपालिकाले ढुंगैढुंगाको पार्क अथवा चोलुङ (सिद्धि प्राप्ति) पार्क निर्माण गरेको छ । सांस्कृतिक पर्यटन प्रवद्र्धनसमेतको उद्देश्य बोकेको यो पार्क पर्यटकको विशेष गन्तव्य हो । यहाँ लिम्बु समुदायको संस्कृति बुझन् सकिन्छ ।

तेह्रथुमको लालिगुराँस नगरपालिकामा पर्ने उक्त पार्क ‘लिम्बु जातिको पुरानो सभ्यता र संस्कारलाई पार्कको माध्यमद्वारा प्रतिविम्बित गराई विश्वसामु चिनाउने उदेश्य राखिएको छ। लिम्बु भाषामा ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुंगा हुन्छ । यस अर्थमा यो चोलुङ पार्कको विशेषता भनेकै ढुंगाको सभ्यता हो । महिलाको भन्दा तौल बढी भएमात्र

पुरुषले विवाह गर्न पाउने लिम्बु सभ्यता थियो भने पुरुषभन्दा बढी तौल भए महिलाले आजीवन कन्या बस्ने प्रचलन थियो । आदिमकालदेखि आफ्नै भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज रहेको लिम्बु जातिमा ढुंगाको छुट्टै महत्व रहेको र यसको पुरातात्विक सभ्यताको भग्नावशेष जगेर्नाको अभिप्रायले यो पार्क बन्नु आफैंमा महत्वपूर्ण हो ।

यो पार्कको विभिन्न भागमा अग्ला–अग्ला ढुंगाका स्तम्भ गाडिएको देखिए । आदिमकालमा लिम्बु जातिको युमा (इष्टदेवी) ले प्रयोग गरेको तान बुन्ने ठाउँ र धागो अड्याउने खम्बा यहाँ राखिनु पार्कको मुख्य विशेषता हो । यहाँ गाडिएका ढुंगाको उचाइ करिब १६ फिट छ । नजिकै ढुंगाको तराजु पनि राखिएको छ ।

पार्कमा (सिङपक्वा च्वात् लुङपक्वा च्वात) प्राकृतिक रुपमा रहेको ढुङगा र रुपमा रहेको पवित्र पानी जुन पानीले अपवित्र काम गरेको भएपनि चाख्याएपछि पवित्र हुने लिम्बु समुदायमा मान्यता रहँदै आएको छ । करिब ५० रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कको पूर्वपट्टीको भागमा लिम्बु जातिको आदिम राजा ‘सावा येहाङ’ को सभ्यतालाई पुनःर्निर्माण भएका छन् । यहाँ मौलिक तथा ऐतिहासिक घर, युमा संग्रहालय, युमा पोखरी, देवारी घर, श्रीजंगा पुस्तकालयलगायतका भौतिक संरचनाहरु निर्माण भएका छन् ।

पार्क निर्माण सम्पन्न गर्नका लागि कोशी प्रदेश सरकारले पनि सहयोग गरिरहेको छ । लालिगुँरास नगरपालिकाका मेयर उपमेयर तथा वडा अध्यक्षले पूर्व मन्त्री शमशेर राईसँग कोशी प्रदेश सरकारलाई आवश्यक सहयोग गर्न आग्रह समेत गरेका थिए । नगरपालिकाको आम्दानीको स्रोतको रुपमा समेत विकसित हुँदै गएको यो पार्क लिम्बुहरुको संस्कृति बुझ्नका लागि महत्वपूर्ण यो पार्कलाई विश्वसामु चिनाउनु पर्नेमा स्थानीयको जोड छ ।

चोलङ माथिको पाथिभरा


चोलुङ पार्कको यात्रा पछि हाम्रो टोली बसन्तपुरमा खाना खाएर पाथिभरा क्षेत्रतर्फ लाग्यो । हामीलाई राष्टिय फुल लागी गुराँसका थुंगाले मुस्कुराउँदै स्वागत गरिरहेको थियो । बाटोको छेउछाउमा फूलिरहेका ढकमक्क विभिन्न थरिका गुँरासले सबैको मन लोभ्याउँदै थियो । बस भित्रको यात्रा अनी बाहिर राताम्मे फुलेका फुुलहरु हेर्दै जाँदा कतिबेला झरेर फुल सँगै रमाउने भन्नेमा हामी सबै थियौँ ।

गुँरासको मनमोहक दृश्य अवलोकन गर्दै हामीले सानो पाथिभरा मन्दिरको दर्शन गर्यौ । पाथिभरा मन्दिर हिन्दूहरूको महत्वपूर्ण धार्मिक तिर्थस्थल हो । यसलाई सानो पाथिभरा समेत भन्ने गरिएको छ ।

धागोको डोरोले मन्दिरलाई तीन फन्कोसम्म लगाउँदा चुढिएन भने पाथिभरा भगवतीसँग गरेको विश्वास कहिल्यै पनि नटुट्ने धार्मिक विश्वास छ । सामुन्द्रिक सतहबाट दुई हजार नौ सय २० मिटरको उचाइमा अन्नभरेको पाथी झैं सुन्दर, मनमोहक आकृति बोकेको पहाडको टुप्पोमा देवीको उत्पतिस्थल भएको पौराणिक विश्वासका आधारमा यस ठाउँमा पाथिभरा मन्दिर स्थापना गरिएको मानिन्छ ।

तेह्रथुमको सदरमुकाम म्याङलुङबाट २८ किलोमिटर पश्चिममा टुटे देउराली पुगिन्छ । टुटे देउरालीबाट गुराँसको घना जंगल हुँदै एक घण्टा पैदलपछि पाथिभरा पुगिन्छ। कोशी पहाडी राजमार्ग अन्तर्गत धरान, धनकुटा, बसन्तपुर हुँदै टुटे देउरालीबाट २० मिनेटको गाडीको यात्राले पाथिभरा मन्दिरको फेदीमा पुग्दा नपुग्दैको मनमोहक दृश्यले सबैलाई लोभ्याउँछ । उक्त खुड्किलोबाट हजार खुड्किला पार गरेपछि पाथिभरा मन्दिर पुग्न सकिन्छ ।

गाडीको समस्याको कारण तीनजुरे डाँडामै पुग्न नसकेका हामी केही पत्रकार पाथिभरा क्षेत्रको मनमोहक दृश्य अवलोकन पछि आर आर गार्डेन झर्यौं । जहाँ तीनजुरे, पाथिभरा क्षेत्र घुमेर आएपछि वरिपरिको मनमोहक दृश्य अवलोकन गर्दै थकाई मार्ने गजब्बको खुल्ला ठाउँ रहेछ ।

ढुंगाका कलात्मक आकृतिसँगै बरिपरि रंगीचंगी गुँरासका फूल अनि पोखरी लगायतको दृश्यले थकाई बिर्साउने । उकाली ओराली अनि ती मनमोह दृश्यले लाग्थ्यो म स्वर्गमा आएकी छु । मैले जति घुमे अनि देखे ! त्यो देख्दा लाग्यो, यो क्षेत्र प्रकृतिले पृथ्वीलाई दिएको एउटा सुन्दर उपहार हो । जहाँ जो कोही मोहित हुन्छन् ।

तीनजुरे, मिल्के र जलजले क्षेत्रका गुराँसका वनहरूलाई समेटेर २०५४ सालमा नेपाल सरकारले राष्ट्रिय गुराँस एवं वातावरण संरक्षण क्षेत्रको रूपमा घोषणा गरेको गुराँसको राजधानीका नामले पनि चिनिन्छ ।

यस क्षेत्रमा २८ भन्दा बढी प्रजातिका गुराँस पाइने कुरा अनुसन्धान कर्ताहरूले पत्ता लगाएका छन् । तीनजुरे हालका वर्षहरूमा यातायातको पहुँच, यसको भौगोलिक र प्राकृतिक सौन्दर्य र गुराँस फुल्ने वनपाखाका कारण आन्तरिक पर्यटनका लागि पूर्वी पहाडको एक प्रमुख र आकर्षक गन्तव्य बनेको छ ।