विराटनगरको मदरल्याण्ड स्कुलमा निःशुल्क योग शिविर

विराटनगर १५ वैशाख । विराटनगरको मदरल्याण्ड एकेडेमी सेकेन्डरी स्कुलले निःशुल्क योग शिविरको आयोजना गरेको छ ।

विराटनगर महानगरपालिका–४ मा रहेको स्कुलमा निःशुल्क योग विज्ञान शिविरको आयोजना गरिएको हो । पतञ्जलि योग समिति मोरङ, महिला पतञ्जलि योग समिति मोरङ र पतञ्जलि योग महानगर समिति विराटनगरको सहयोगमा साताव्यापी शिविरको आयोजना गरिएको छ । पतञ्जलि योगका आजीवन सदस्य एवं कोशी प्रदेशका प्रदेशसभा सदस्य भीम पराजुलीले शुक्रबार बिहान शिविरको उद्घाटन गरे ।

स्कुल परिसरमा आयोजित उद्घाटन समारोहमा पतञ्जलि योगमा आवद्ध रहेकाहरु, योग प्रशिक्षक, विद्यार्थी एवं अभिभावकको उपस्थिति थियो । उद्घाटनपछि विद्यार्थी र अभिभावकलाई प्रशिक्षकहरुले करिब डेढ घण्टा योग अभ्यास पनि गराएका थिए । विद्यार्थी र अभिभावकलाई लक्षित गरेर आयोजना गरिएको शिविर एक सातासम्म सञ्चालन हुने मदरल्याण्ड स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले बताए । उनका अनुसार शिविरमा प्रत्येक दिन बिहान ५ देखि ७ बजेसम्म २ घण्टा योग अभ्यास गराइने छ ।

शिविर सम्पन्न हुनासाथ अलग्गै कक्षा सञ्चालन गरेर विद्यार्थी र अभिभावकलाई निरन्तर योग अभ्यास गराउने तयारी स्कुलको छ । ‘शैक्षिक सत्र २०८१ देखि स्कुलमा नियमित र निःशुल्क योग कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । त्यसका लागि बिहान १ घण्टा समय छुट्याइएको छ,’ बुढाथोकीले भने, ‘योगका माध्यमबाट मानसिक र शारीरिक सन्तुलन कायम राख्दै विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उदेश्य छ । योग गर्दा स्वास्थ्य रहन सकिन्छभन्ने सन्देश प्रवाह गर्ने अभियानमा स्कुल लागेको छ ।’ योगलाई अनिवार्य गरिएपछि पढाइप्रति विद्यार्थी थप आकर्षित एवं लगनशील हुने र पठनपाठन चुस्त दुरुस्त हुने अपेक्षा गरिएको उनी बताउँछन् ।

विद्यार्थीलाई पढाइप्रति आकर्षित गराउन, पठनपाठन एवं सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन, कुलतबाट बचाउन र उनीहरुको मानसिक तथा शारीरिक स्वास्थ्यलाई सन्तुलित राख्न स्कुलले योगलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । उनका अनुसार यसअघि पनि विभिन्न समयमा योग शिविरहरुको आयोजना गरिँदै आएको थियो । तर, निरन्तर कक्षा सञ्चालन भने हुन सकेको थिएन । स्कुलले पतञ्जलि योगसँग समन्वय गरेर अलग्गै कक्षा सञ्चालनका लागि योग प्रशिक्षकको व्यवस्थासमेत गरेको छ ।

शिविरको उद्घाटन गर्दै पतञ्जलि योगका आजीवन सदस्य एवं कोशी प्रदेशका प्रदेशसभा सदस्य भीम पराजुलीले योगले मानिसलाई सन्तुलित र चुस्त दुरुस्त बनाउन मद्धत गर्ने बताए । ‘मानिसलाई निरोगी हुन र स्वस्थ समाज निर्माणका लागि योगले महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने, ‘नियमित योग गर्नाले सबैलाई फाइदा पुग्छ ।’

योगले मानिसको स्तरवृद्धि र सोचाइमा सकारात्मकता प्रदान गर्ने पराजुलीको भनाइ छ । ‘योगका माध्यमबाट मन शुद्ध बनाउन, सकारात्मक सोचको विकास गर्न, सत्कर्म एवं आध्यात्मिकतातर्फ अघि बढ्न र स्वस्थ्य रहन सकिन्छ,’ उनले भने, ‘योग पूर्वीय सभ्यताको अभिन्न अंग भएकाले हजारौं वर्षदेखि मानिसहरुले मानसिक र शारीरिक आरोग्यका लागि यसको प्रयोग गर्दै आएका छन् ।’

विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग रहेको उल्लेख गर्दै पराजुलीले मनलाई स्थिर बनाउन यसले भूमिका खेल्ने बताए । ‘हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा कुराहरु हुन्छन् । योगले नराम्रा कुरा त्याग्न मद्धत गर्छ,’ उनले भने, ‘योगले मानिसको शरीरमा रोगलाई निरोध गर्न सक्छ । त्यसैले नियमित योग गर्ने बानी बसाल्नुपर्छ ।’

पतञ्जलि योग समिति मोरङका अध्यक्ष सुरेश अग्रवालले शारीरिक र मानसिक आरोग्यका लागि योग महत्वपूर्ण रहेको बताए । ‘योगले हामीले स्वस्थ रहन मद्धत गर्छ । अनुशासन सिकाउँछ,’ उनले भने, ‘सधैं योग गरौं । स्वास्थ रहौं ।’ स्वस्थ जीवन प्राप्त गर्नसक्नु नै योगको उपलब्धि भएकाले पछिल्लो समय यसको महत्व बढ्दै गइरहेको अग्रवाल बताउँछन् ।

जिल्ला समन्वय समिति मोरङका सदस्य तुलसीप्रसाद घिमिरेले शरीरलाई रोगमुक्त बनाउन योग अपरिहार्य बन्दै गएको बताए । ‘योगले हामीसँग भएका नकारात्मक कुराहरु बाहिर निकाल्न मद्धत गर्छ,’ उनले भने, ‘पछिल्लो समय योगको महत्व झन् बढ्दै गइरहेको छ ।’ स्वास्थ्य, सुन्दरता, आनन्द र प्रशन्नता प्राप्त हुने हुँदा निरन्तर योग गर्न सबैमा घिमिरेको आग्रह छ ।