विराट गोल्डकप : कोलकातालाई हराउँदै मच्छिन्द्र सेमिफाइलनमा

विराटनगर २१ चैत । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

विराटनगरको सहिद मैदानमा मंगलबार राती सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मच्छिन्द्र एफसि काठमाण्डौले कोलकाताको साउर्थन समिति एफसिलाई २–१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । जितको लागि मच्छिन्द्रका विदेशी खेलाडी स्टेफन विनोङ नायक भए । टिमलाई सेमिफाइनलमा पुर्याउन दुवै गोल स्टेफनले गरे । खेलको प्लेयर अफ द म्याच पनि स्टेफन घोषित भए । उनले नगद ११ हजार पाए ।

कोलकाताको तर्फबाट सान्तवना गोल सोनु हल्दारले फर्काए । सेमिफाइनल प्रवेश गरेको मच्छिन्द्रले अब फाइनल प्रवेशका लागि बिहीबार सिक्किम ड्रागन भारतसँग सामना गर्दैछ । यसअघि घरेलु टिम सांग्रीला मोरङ एफए र विभाग्य टिम सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा पुगिसकेका छन् ।

एपीएफले इटहरी गोल्डकप च्याम्प्यिन चर्च ब्वाईज युनाइटेड काठमाण्डौलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो ।

प्रतियोगिता अन्तर्गत् पहिलो सेमिफाइनल खेलमा बिहीबार सांग्रीला र विभागिय टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।