उर्लाबारी १७ माघ । नेकपा एमालेबाट मोरङ १ मा उम्मेदवारी दिनुभएका घनश्याम खतिवडाले परिवर्तनशील युवा क्लव उर्लाबारीका पदाधिकारी तथा सदस्यहरुसँग अन्तक्र्रिया गर्नुभएको छ ।
जेनजी उमेरसमूहका क्लवका पदाधिकारी तथा सदस्यहरुले खतिवडासँग विभिन्न जिज्ञासाहरु राखेका थिए । उनीहरुले जेन जी आन्दोलनमा एमालेको धारणा तथा अध्यक्ष केपी ओलिमाथी लगाईएको आरोप, अघिल्लो पटक संसद हुदा गरेका विकास तथा कानुन निर्माण, आगामी कार्य योजना तथा विकाससम्बन्धी अवधारणा, युवामैत्री कार्यक्रम, कृषी उत्पादन, आत्मनिर्भर तथा बजारीकरणसम्बन्धि योजना, मतदान गर्नुपर्ने कारणलगायतका विषयमा प्रश्न गरेका थिए ।
सो कार्यक्रममा उठेका प्रश्नहरुको तथ्यसहित सरल तरिकाले सम्बोधन गर्दे उम्मेद्वार खतिवडाले आफ्नो कार्यकालमा भएका विभिन्न विकास निर्माण तथा तर्जुमा भएका कानुनको बारेमा प्रष्ट्याउनु भएको थियो । उहाँले एमालेप्रति लगाईएका आरोपहरु अपुष्ट र भ्रामक भएको बताउदै यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो । जेन जी युवाहरुले उठाएका भ्रष्टचारविरुद्धको अभियान, रोजगारीको अवसर सिर्जना , युवा विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम, वातावरण विज्ञानप्रविधि तथा आई.टी.को क्षेत्रमा कार्ययोजना बनाई आवश्यक कार्यहरु गर्ने सवालमा समेत धारणा व्यक्त गर्नुभएको थियो ।
उम्मेदवार खतिवडाबाट जवाफहरु चित्तबुझ्दो र विकास योजना स्वागतयोग्य भएको क्लवका सचिव विकल्प दाहालले बताउनुभयो ।
क्लवकी अध्यक्ष गरिमा ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो अन्तक्र्रिया कार्यक्रममा उर्लाबारी नगर उपप्रमुख मिना खतिवडा पौडेल, एमाले नगर अध्यक्ष निरोज तिम्सिना, नगर सह सचिव नितम चौहान, अधिवक्ता रेजिना बस्नेत, पत्रकार रेवती निरौलासहित क्लवका सदस्य तथा जेन जी युवाहरुको उपस्थिती रहेको थियो ।