विराटनगर १८ चैत । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रको फोहोरमैला ब्यवस्थापनका लागि तीन वटा क्षेत्र विभाजन गरि काम गरिरहेको छ । विराटनगर १ देखि ५ र १९ लाई उत्तरी क्षेत्र, ६–११ मध्य क्षेत्र र १२–१८ दक्षिण क्षेत्र विभाजन गरि फोहोरमैला ब्यवस्थापनको काम गरिरहेको छ ।
मध्यक्षेत्रमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालले काम गरिरहेको छ । सो संस्थाले आफ्नो कार्यक्षेत्र अन्तरगतका वडाध्यक्षहरु, वडासचिवहरु, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुवीच गरेको समीक्षा तथा कार्ययोजना बैठकमा वडाध्यक्षहरु त्था सरोकारवाला निकायका प्रतिनिधिहरुले विगतको तुलनामा महानगरको मध्यक्षेत्रमा फोहोरमैला ब्यवस्थापनमा सुधार भएको बताएका छन् । वडाध्यक्षहरुले फोहोरमैला व्यवस्थापनको क्षेत्रमा कार्यरत स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाललाई सदस्य नबनेकाहरुबाट जथाभावी फोहोर हुने गरेको पाईएकाले कार्यक्षेत्र भित्रका सवैलाई सदस्य बनाउनुपर्नेमा जोड दिनुभयो ।
नगरभित्र जथाभावी फोहोर गर्नेलाई कारवाहीको दायरामा ल्याउन वडा कार्यालहरु तयार रहेको उहाँहरुको भनाई थियो । वडाध्यक्षहरु राम पोखरेल, विश्वनाथ भगत, अर्जुन गिरी, तिर्थेन्द्र न्यौपाने लगायतले फोहोरमैला ब्यवस्थापन कार्यमा वडा कार्यालयहरुले आवस्यक सहयोग, समन्वय गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा विराटनगर महानगरपालिका सरसफाई शाखा प्रमुख पुनम दाहालले विगतको तुलनामा सरसफाईमा सुधार भएको बताउनुभयो । उहाँले फोहोरमैलाको उचित व्यवस्थापनका लागि चाँडै ट्रिटमेन्ट प्लान्ट निर्माण गर्ने गरि तयारी अघि बढेको जानकारी दिनुभयो ।
स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालका अध्यक्ष कृष्णप्रसाद तिम्सीनाले विराटनगर ६ देखि ११ सम्म ७ हजार ३ जना सदस्य रहेको बताउनुभयो । उहाँले सदस्य विस्तारगरि जथाभावी फोहोरगर्ने कार्यको अन्त्य गरिने बताउनुभयो । फोहोरमैला ब्यवस्थापनमा आफ्ना कर्मचारीहरु अहोरात्र खटिएको बताउनुभयो ।