विराटनगर २३ फागुन । ११४ औं अन्तरराष्ट्रिय महिला दिवस मोरङको रंगेलीमा मनाईएको छ । मार्च ८ को अवसरमा ‘महिलामा लगानी सभ्य र सम्मुनत समाजको थालनी’ भन्ने मुल नाराका साथ रंगेली ७ स्थित जनता क्याम्पसमा भव्य रुपमा मनाईएको छ ।
राष्ट्रिय नाराको सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाएकोे मानव अधिकार सञ्जाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।
मानव अधिकार सञ्जाल विराटनगर र महिला सञ्जाल, सामाजिक संघ संस्था रंगेलीको आयोजना तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहकार्यमा आयोजित कार्यक्रममा रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, जिल्ला समन्वय समिति मोरङ उपप्रमुख उषा झा, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बराल, राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश निर्देशक पवन भट्ट, मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज कार्की, अनुसन्धान उपरीक्षक तिलक प्रसाई, इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापा लगायतले महिला सशक्तिकरणमा जोड दिनु भएको थियो ।
करिव ७ सयको सहभागितामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको मानव अधिकार सञ्जाल विराटनगरका संयोजक पोखरेलले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम तथा चेतनामुलक प्रस्तुतीहरु रहेको थियो ।