काेराबाट एमाले उम्मेदवार ढकालकाे अपिल

विराटनगर २ फागुन । नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफू मतदाताको सँगै रहेको बताउनुभएको छ ।

निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले आज भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बीचमा रहेको र मतदातासँग आउन नपाए पनि नेकपा एमालेका कार्यकर्ताहरु घरदैलोमा आइपुग्ने बताउनुभएको हो । ‘म मतदाता बीचमै छु, र मन मतदातासँगै छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिपछि म तपाईँहरू बीचमा आएर सुझावहरु लिने नै छु ।’

नेता ढकालले आफूले ६ नम्बर क्षेत्रका समस्याहरू बुझेको र ती सबै समस्यालाई समाधान गर्ने तर्फ क्रियाशील रहने बताउनुभयो ।

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचनमा उम्मेदवार छन् । उहाँलाई पराजित गर्ने गरी विनोद ढकाल मैदानमा उत्रिनुभएको छ ।

नेकपा एमालेभित्र आफ्ना आवाजहरुलाई बुलन्द पार्ने नेताको रुपमा चिनिनुभएका ढकाल स्थानीय कार्यकर्ता र जनताबीच लोकप्रिय नेताका रुपमा परिचित हुनुहुन्छ ।