मनोनयन दर्ताको पहिलो दिन विराटनगरमा ५६ जनाद्धारा मनोनयन दर्ता

विराटनगर, १२ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको पहिलो दिन आईतबार विराटनगर महानगरपालिकामा तीन जनाले मेयर पदमा उम्मेदवारी दिएका छन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदका लागि जनमत पार्टीबाट एक जना र दुई जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन । जनमत पार्टीबाट महानगर समिति अध्यक्ष अरुणकुमार मण्डलले मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन । जसपा परित्याग गरेका उमेश यादवले स्वतन्त्रमा उम्मेदवारी दिनुभएको छ । विराटनगर वडा नम्बर २ का सकिय गौतमले पनि मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले पहिलोदिन मेयरसहित वडाध्यक्ष र सदस्यमा ५६ जनाले मनोनयन दर्ता गराएको बताउनुभयो । उहाँका अनुसार १८ जना वडा अध्यक्ष र ३५ जनाले वडा सदस्यमा मनोनयन दर्ता गराएका छन ।

राजनीतिक दलतर्फ जनमत, विवेकशील साझा पार्टी, नेपाल सदभावना पार्टी, लोसपा, नागरिक उनमुक्ति पार्टी, पिछडा वर्ग, निसाफ जनजाति पार्टीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन्। ८ जनाले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । वडा नम्बर १० मा माधवराज वाग्लेले स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

वाग्ले ०७४ मा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।