रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले ‘आशा– क्लोज द केयर ग्याप’ कार्यक्रम गर्ने

विराटनगर १८ माघ । रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको आयोजनामा मोरङको बुढीगंगामा क्यान्सर रोग सचेतना सम्बन्धी ‘आशा– क्लोज द केयर ग्याप’ कार्यक्रम संचालन गरिने भएको छ ।

इन्स्टिच्युटले माघ २१ गते विश्व क्यान्सर दिवसको अवसर पारेर ‘आशा–क्लोज द केयर ग्याप’ कार्यक्रम अन्तर्गत १६ वटा अलग–अलग कार्यक्रम आयोजना गर्ने जनाएको हो । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले पिडितको क्यान्सर रोगको उपचारसँगको पहुँचलाई सरल बनाउने, निम्न आर्थिक हैसियतका पिडितको उपचारार्थ सहयोग जुटाउने तथा व्यापक स्तरमा क्यान्सर रोग सम्बन्धी सचेतना फैलाउने उदेश्यसाथ कार्यक्रम आयोजना गर्न लागिएको बताउनु भयो । कार्कीका अनुसार इन्स्टिच्युटले आयोजना गर्न लागेको आशा कार्यक्रम अन्तर्गत स्कूल र्याली , साइकल र्याली, स्कुटर र्याली , कार र्याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर रोग विशेषज्ञद्वारा सूचनामूलक प्रस्तुति, विभिन्न स्कूलका विद्यार्थीहरुको प्रस्तुति लगायतको कार्यक्रमहरुलाई समावेश गरिएको छ ।

कार्यक्रममा नेपाल क्यान्सर सर्भाइभल सोसाइटीबाट १० जना भन्दा बढी क्यान्सर रोगलाई पराजित गरेको व्यक्तिहरुले आफ्नो अनुभव समेत सुनाउने बताईएको छ । इन्स्टिच्युटले कार्यक्रमको आयोजना गर्न विभिन्न व्यापारिक तथा सामाजिक संस्थासँगको साझेदारीमा हालसम्म ६५ लाख रकम संकलन भएको र सो रकम निम्न आर्थिक हैसियतको क्यान्सर पिडितको उपचारमा खर्च गर्ने तयारी गरेको छ ।

सोहि दिन बुढीगंगा २ टंकीसिनवारीमा सञ्चालनमा रहेको क्यान्सर इन्स्टिच्युटको औपचारिक उद्घाटन कलाकार मदनकृष्ण श्रेष्ठ, प्रतिनिधि सभा सदस्य डा. शेखर कोइराला र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने कार्यक्रम समेत तय भएको कार्कीले बताउनु भयो।