
विराटनगर २ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सधैं पहिचानको पक्षमा रहेको बताउनु भएको छ ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दरहरैंचा, मोरङको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले पहिचानको मुद्दालाई कांग्रेसले जति कसैले नउठाएको दाबी गर्नुभयोे । “कांग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको छ,” उनले भने, “पहिचानका नाममा समाजमा फाटो ल्याउने होइन भएका अलिअलि कहींकतै तुष छन् भने त्यसलाई पनि मेट्ने पहिचानको पक्षमा कांग्रेस छ ।”
प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउने क्रियाकलाप कतैबाट पनि हुन नहुने बताउनुभयो । देशमा भ्रष्टाचार मौलाएको बताउँदै नेता कोइरालाले भ्रष्टाचारविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले संघीयदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको दाबी गर्नुभयोे । “सरकारले जनतालाई सुशासनको अनुभूति दिन सकेको छैन,” उहाँको भनाइ थियो, “सुशासन बिना देशको विकास सम्भव छैन ।
सबैभन्दा पहिले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्छ ।” भ्रष्टाचार र व्यथितिकै कारण जनता निराश बन्दै गएको नेता कोइरालाले बताउनुभयो । “पछिल्लो समय युवाहरुमा यो देशमा केही हुँदैन, यहाँ बस्नु बेकार छ भन्ने सोच देखिएको छ,” कोइरालाले थप्नु भयोे, “उनीहरुमा आशा जगाउनु जरुरी देखिन्छ ।”
नेता कोइरालाले हरेक क्षेत्रमा अराजकता बढ्दै गएकोमा चिन्तासमेत व्यक्त गर्नुभयोे । राजनीतिमा मात्रै नभएर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि अराजकता बढेको उहाँको भनाइ थियो ।