रसायन तथा मेडिकल आपूर्ती संघ मोरङको अध्यक्षमा राउत

विराटनगर २२ पुस । रसायन तथा मेडिकल आपूर्ती संघ, नेपाल (केमसन)को प्रथम मोरङ जिल्ला अधिवेशनले दिनेशकुमार राउतको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा राजिव निरौला, सचिवमा भुवन साह र कोषाध्यक्षमा सुमन पौडेल निर्वाचित हुनुभएको छ । सदस्यहरूमा मनोज तिवारी, सागर भट्टराई र नन्दनप्रसाद रौनियार निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत तथा केमसनका केन्द्रीय अध्यक्ष तथा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य भक्तबहादुर हमालले पदस्थापन तथा शपथ ग्रहण गराउनु भएको थियो ।

केन्द्रीय अध्यक्ष हमालले रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले विपद्मा स्वास्थ्य सामाग्री वितरणमा उल्लेख्य कार्यगरेको बताउनुभयो । उहाँले संस्थाको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राउतले सर्जिकल क्षेत्रलाई नेपाल उद्योग बाणिज्य महासंघले जहिले पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरु एक आपसमा स्वास्थ्य प्रतिस्पर्धा गर्नु पर्नेमा जोड दिनु भयो ।

नवनिर्वाचित अध्यक्ष राउतले केमसन मोरङले जिल्लामा रहेका अन्य व्यवसायीक संगठनहरूसँग समन्वय गर्दै केमसनमा आवद्ध व्यवसायीहरूको हक अधिकारको पैरवी गर्ने तथा व्यवसायीहरूले पेशागत सुरक्षालाई प्राथमिकतामा राख्ने धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारी, मेलान मोरङका सचिव जितेन्द्र देव, औसधि ब्यवसायी संघ कोशी प्रदेश अध्यक्ष कुमार खतिवडा, प्रदेश जनस्वास्थ्य प्रयोगशाला कोशीका निर्देशक प्रणव यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।