विराटनगर ३ पुस । नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत हुनु भएको छ । आज नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली र पोर्तेललाई पुरस्कृत गरेको हो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगद सहित नेपालीलाई भद्रमान घले स्मृति सम्मान पुरस्कार र पोर्तेेललाई नवराज शंकर स्मृति युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार नेकपा एमालेका महासचिव शंकर पोखरेल, मुक्ति समाज केन्द्रीय कमिटी अध्यक्ष मनोहर विश्वकर्मा, कोशी प्रदेश अध्यक्ष उमेश विश्वकर्मा लगायले प्रदान गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेकपा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल लगायतको सहभागिता रहेको थियो ।
पुरस्कृत अभियन्ता नेपाली मुक्ति समाज केन्द्रीय कमिटीका महासचिव र पोर्तेल सचिव हुनुहुन्छ । मुक्ति समाजको स्थापना दिवसको अवसर पारेर केन्द्रीय कमिटीले विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश कमिटीले स्थापित गरेको सो पुरस्कार वितरण गरिएको हो । आज देश व्यापीरुपमा मुक्ति समाजको ३६ औं स्थापना दिवस मनाईएको छ ।