भौतिक पूर्वाधार निर्माण कार्यहरुको तथ्याङ्क सार्वजनिक गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर २३ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधार कार्यहरु सार्वजनिक गर्नु पर्ने बताउनु भयो ।
प्रदेश योजना आयोगद्वारा शुक्रवार विराटनगरमाआयोजित प्रथम आवधिक योजना समीक्षा बैठकमा उहाँले विगत छ वर्षमा प्रदेश सरकारले निर्माण गरेका सडक, पुल लगायतका पूर्वाधारहरु निर्माणहरु जनतालाई सुसुचित गराउन मन्त्रालयले अविलब्व तथ्याङ्गक सार्वजनिक गर्नुपर्ने निर्देशन दिनु भयो ।

मुख्यमन्त्री कार्कीले कर्मचारीहरुले यथार्थमुलुक लक्ष्य राखि कार्य गर्नुपर्नेमा जोड दिदै विकासको लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको साथ र सहयोग लिई हिड्न सुझाव दिनु भयो ।
विपद्मा जनतालाई द्रुत रुपमा सेवा दिन अग्रसर हुन आग्रह गर्दै उहाँले राहत र उद्धार कार्यमा प्रदेश सरकार जनताको साथमा रहने धारणा राख्नु भयो । मुख्यमन्त्री कार्कीले एक पालिका एक प्राविधिक शिक्षालाई प्रभावकारी कार्यान्वयन गनुपर्छ भन्दै स्वास्थ्य र कृषिका जनशक्ति उत्पादनमा जोड दिन सुझाव दिनु भयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले राजनैतिक दलको सहकार्यमा योजना बैङ्क स्थापना गरि लक्ष्य अनुसारको प्रगति गर्न इमान्दार प्रयास हुनुपर्ने सुझाव दिनु भयो । उहाँले प्रदेशमा सुशासन कायम गरि समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रदेश लोकसेवा आयोगका सचिव बाबुराम खतिवडाले कर्मचारीहरुको कमीले सरकारको बजेट कार्यान्वलयनमा लक्ष्य प्राप्त नभएको चर्चा गर्दै सो समस्या समाधान गर्न आवश्यक कर्मचारीहरुको पदपूर्तिका लागि मन्त्रालयहरुलाई आग्रह गर्नु भयो ।  योजना आयोगका निमित्त सचिव कमल थापाले सरकारको लक्ष्य प्राप्तिका लागि कर्मचारीहरुको इमान्दार प्रयास हुने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा दिपक काफ्ले लगायत विभिन्न मन्त्रालयका सचिजवहरुको सहभागिता रहेको थियो ।