
विराटनगर १४ मंसिर । कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परी चुनौती खेपिरहनु परेको वर्तमान सन्दर्भमा जलवायु अनुकुलित कृषिका लागि भू–समय खण्ड (जियोस्पासियल) प्रविधिहरुको एकीकृत प्रयोगका विषयमा चार दिवसीय तालिम विराटनगरमा सम्पन्न भएको छ ।
तालिमको उद्घाटन गर्दैपरम्परागत कृषि प्रणालीमा परिमार्जन गरी कृषि कार्यलाई सजिलो पार्न आधुनिक डिजिटल प्रविधिहरुको प्रयोग आवश्यक भएको महसुस गरी तालिमको आयोेजना गरिएको आयोजक मध्यपश्चिम विश्वविद्यालय स्कुलअफ साइन्स एण्ड टेक्नोलोजीका डीन डा. सुदीप ठकुरीले बताउनुभयो । सो तालिममा जीआईएस सफ्टवेयर खोज्ने तरिका, तिनीहरुको डाटाफ्रेमका कुरा, कस्तो ठाउँमा कस्तो बाली उपयुक्त हुने भन्ने विषयमा जीआईएस विज्ञ विष्णु महर्जनले सहजीकरण गर्नु भएको थियो ।
कृषिमा यस्ता नवीतम् प्रविधिहरुको प्रयोग विश्वस्तरमा के कसरी भइरहेको छ र नेपालको अवस्था के हो भ्रन्ने बारेमा डा. उत्तमबाबु श्रेष्ठले तालिम दिनुभएको थियो । त्यसैगरी कृषिमा जमिनको छनौट र म्यापिङ (चित्रकरण)का बारेमा समेत सिकाइएको थियो । जलवायुको प्रभावलाई पञ्छाउने, उपयुक्त स्थानमा उपयुक्तबाली लगाउने र फलाउने क्लाइमेट स्मार्ट कृषिको बारेमा किरण तिमिल्सिनाले तालिमदिनुभएको थियो । यसका साथै सुपर कृषि र जियोकृषिकाबारेमा सहभागीलाई प्रशिक्षित गरिएको थियो ।
तालिमको समापनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान् (नास्ट)का सहप्राज्ञ डा. इन्द्रमणि भगतले आजको युगमा नवीतम् प्रविधिहरुको प्रयोगको आवश्यकतालाई पहिल्याउन सकेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । तालिममा कोशी प्रदेशका कृषि अधिकृतहरु, कृषि, वन तथा वातावरण विषयका प्राध्यापकहरु र अनुसन्धान तहका विद्यार्थीहरुसहित ३० जनाको सहभागिता रहेको थियो ।