


विराटनगर ३० असोज । जेनजीको आन्दोलनको नाममा अपराधिक समुहले सरकारी,नीजि तथा व्यक्तिगत सम्पत्ति तोडफोड,लुटपाट गर्नेलाई अविलम्व कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आज यहाँ आयोजित जेनजी प्रदर्शन पश्चात गठन भएको भदौ २३ र २४ गतेको घटना जाँचवुझ आयोग–२०८२ का सदस्य विज्ञानराज शर्माको उपस्थितिमा जिल्लामा भएको क्षति सम्वन्धमा सरोकारवालाहरुसँग आयोजित छलफल कार्यक्रममा सो सुझाव दिइएको हो । छलफलमा सहभागीहरुले सरकारी तथा नीजि क्षेत्रको जिल्लामा मात्र अर्बो रकम भन्दा वढी तोडफोड, आगजनी तथा लुटपाट गर्ने अपराधीहरु खुलेआम हिडिरहेकोमा कानुन कारवाहीको ल्याउन आयोगको ध्यानाकर्षण गराएका छन् ।
सो अवसरमा आयोगका सदस्य शर्माले आयोग क्षेत्रअधिकार भित्र फौज्दारी मुद्दा नपर्ने हुँदा भदौ २३ र २४ गतेका घटनामा सरकारी, स्थानीय निकाय, नीजि क्षेत्रमा भएको तोडफोड, आगजनी लुटपाटका सम्वन्धमा छानवीन गर्ने जानकारी दिनुभयो । उहाँले आयोग स्वतन्त्र निकाय भएकोले सबैको भावना समेटन गरी सत्यतथ्य जाँचवुझ गरी नेपाल सरकारलाई प्रतिवेदन वुझाउने बताउनु भयो ।
सदस्य शर्माले भदौ २३ र २४ गते देशभरी घटना घटेको हुनाले सर्वप्रथम पूर्व क्षेत्रवाट छानवीन शुरु गरी झापा, सुनसरी जिल्लामा सम्पन्न गरी मोरङमा कार्य प्रारम्भ गर्दै क्षति भएको भवनहरुको अवलोकन गरिएको बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएका सम्वन्धमा आवश्यक छानवीन गर्न माग गर्नुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रहरी क्षतिको मुचुल्का उठाउने कार्य सम्पन्न गरिसकेको जानकारी गराउनु भयो । सुन्दर हरैचा नगरपालिकाका प्रमुख केदार गुरागाईले वास्तविक रुपमा पीडितले न्याय र पीडकलाई कारवाही हुनुपर्छ भन्नुभयो । सुन्दरहरैचना स्थित पाँच तारे होटल नेपालीरिका धनी एवं उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोला दुलालले आन्दोलनको क्रममा होटलमा रु २८ करोडको क्षत्ति हुनुका साथै मुलुकको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका मोरङ उपाध्यक्ष सागर थापा, जनता समाजवादी पार्टीका मोहम्मद नसरुल, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण निरौला, नेकपा (माओवादी केन्द्र)का किशोर पाण्डे उद्योग परिसंघका पवन शारडा, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, कांग्रेस मोरङ उपसभापति भक्तिनाथ माझि, विराटनगर –१ का वडा अध्यक्ष काजीबहादुर बस्नेत लगायतले घटनाका दोषी माथि कारवाही गरी नीजि क्षेत्रको सम्पत्तिको सुरक्षाका लागि माग गरिएको थियो ।

