कार्यसम्पादन मूल्यांकनमा मोरङ सातौं, धनकुटा पहिलो, पाँचथर ७७ औं

विराटनगर २९ असोज । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मोरङ सातौं भएको छ ।

आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासिक ( वैशाख–असार) अवधिको मन्त्रालयले मंगलबार सार्वजनिक गरेको नतिजामा जिल्ला प्रशासन कार्यालय मोरङ २९.२५ अंक प्राप्त गर्दै सातौ हुन सफल भएको हो ।

मोरङको प्रमुख जिल्ला अधिकारीमा अहिले सहसचिव इन्द्रदेव यादव हुनुहुन्छ । उहाँ गत पुस २३ गते सरुवा भएर मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहनु भएको छ । उहाँ प्रमुख जिल्ला अधिकारी भएर आएपछि कार्र्यसम्पादनमा मोरङ ७ औं नम्वरमा पर्न सफल भएको हो ।

यसअघि मोरङ ५८ औं नम्वरमा रहेको थियो । शान्तिसुरक्षा, विपद् व्यवस्थापन, समन्वय, सेवा प्रवाह लगायतका सूचकका आधारमा गृह मन्त्रालयले मूल्यांकन गर्ने प्रजिअ यादवले बताउनुभयो ।

कोशी प्रदेशको धनकुटा जिल्ला कार्यसम्पादनमा पहिलो भएको छ । उसले ३२ पूर्णाङ्कमा ३०.०६२५ अंक ल्याएको छ । धनकुटा पहिलो हुँदा कोशी प्रदेशकै पाँचथर जिल्ला कार्यसम्पादनमा कमजोर हुँदै ७७ औं नम्वरमा पुगेको छ । उसले १४.३१२५ अंक प्राप्त गरेको छ ।